बालेनको पृष्ठभूमिमा बाबुरामको शंका, पपुलर छन् तर रहस्यमय पात्र जस्तो देखिन्छ

बालेनको पृष्ठभूमिमा बाबुरामको शंका, पपुलर छन् तर रहस्यमय पात्र जस्तो देखिन्छ

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पृष्ठभूमिबारे शंका गरेका छन्।

शनिवार उनले सीमित सम्पादक र सञ्चारकर्मीलाई बोलाएर बालेन रहस्यमय पात्र भएको दाबी गरे। उनले बालेन लोकप्रिय रहेको तर उनी के हुन् भन्ने आफूले नबुझेको भन्दै यस्तो पृष्ठभूमिमा नेपाल जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्ने बताए।

‘बालेन एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ। ट्रकहरूमा पनि बालेनको फोटो  देखिन्छ। सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ। उनी हेर्दा पपुलर पनि देखिन्छन्,’ उनले भने ‘तर, उनको वास्तविकता स्पष्ट नभएकाले यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छ।’

पार्टीको विधान अधिवेशनले हालै पार्टीको पछाडि नयाँ शक्ति जोड्ने लगायतबारे निर्णय गरेको थियो। सो निर्णय लगायत नयाँ राजनीतिक शक्तिबारे उनले सीमित सञ्चारकर्मीहरूसँग छलफल गरेका थिए।

देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्ति चाहिने र विगतदेखि नै आफू यस्ता शक्तिसँग सकारात्मक रहेको उनले दाबी पनि गरे। उनले अबको निर्वाचनमा वैकल्पिक शक्तिहरूसँग मोर्चाबन्दी गर्न आफ्नो चाहना रहेको समेत बताए।

कात्तिक ९, २०८१ शनिबार २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।