पुराना वादबाट अब मुलुक चल्दैन, वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ : बाबुराम

पुराना वादबाट अब मुलुक चल्दैन, वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ : बाबुराम

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन्। 

पार्टीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको बताए। 

उनले भने, 'मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेण्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो तर उनीहरू पनि व्यवस्थित हुन सकिरहेको देखिन्न।'

लोकतन्त्रका लागि योगदान पुर्याएका पुराना शक्तिलाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आम सहमतिका आधारमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने तर्क गरे। 

'वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन। संघीयतालाई पनि परिष्कृत गर्दै लैजानुपर्छ, उनले भने।  

केही दिनअघि विधान अधिवेशन सम्पन्न गरेको नयाँ शक्तिले आगामी माघ २५ देखि २७ सम्म काठमाडौंमा राष्ट्रिय अधिवेशन गर्दैछ। पार्टीका सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुपर्छ भन्ने मान्यता राख्ने त्यस पार्टीले पालिकामा प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने संरचना तयार गरेको छ। 

पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने सुनिश्चित गरेको उक्त राजनीतिक शक्तिले समिति निर्वाचितमा समानुपातिक समावेशी प्रणालीको नीतिअनुसार हुने जनाएको छ। 

कात्तिक ९, २०८१ शनिबार २१:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।