कालीमाटी बजार अनुगमनमा गएको सरकारी टोलीलाई नाराबाजी गर्ने व्यापारीले माफी मागे
काठमाडौं : बजार अनुगमन गर्ने सरकारी टोलीलाई असहयोग गर्दै नाराबाजी गरेका व्यापारीहरूले आफूहरूबाट भएको गल्ती स्विकार्दै माफी मागेका छन्।
उनीहरूले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनमा कुलेश्वरको फलफूल बजारमा हुने गरेका सबैखाले अनियमिमता रोक्ने प्रतिबद्धतासमेत जनाए।
विगतमा बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई आफूहरूबाट अनजानमा असहयोग भएको र आगामी दिनमा गल्तीहरू नदोहोरिने नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्मर बानियाँले बताए।
गत असोज २० मा कालीमाटी र कुलेश्वर क्षेत्रका व्यापारीहरूले बजार अनुगमनमा गएको सरकारी टोलीलाई अनुगमनमा असहयोग गर्दै टोली फर्किएपछि नाराबाजीसमेत गरेका थिए।
त्यस दिन गरिएको कालीमाटीको तरकारी बजार र कुलेश्वरको फलफूल बजारमा अनुगमन गर्दा अधिकांश व्यापारीहरूले बिलबिजकबिना नै कारोबार गरिरहेको, पसलमा मूल्यसूची नराखेको, अस्वाभाविक मूल्यमा सामग्रीहरू बिक्री वितरण गरेको तथा कालीमाटी स्थित माछा पसलहरूमा सरसफाइ नगरेको पाइएको थियो।
असोज २० को अनुगमन टोलीसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसमेत छड्के अनुगमनमा निस्किएका थिए। मन्त्री भण्डारी त्यहाँका २ पसलहरूलाई कारबाही गर्न निर्देशन दिँदै फर्किएका थिए। उनी फर्केपछि व्यापारीहरूले अनुगमन टोलीलाई दुर्व्यवहार गर्न खोजेका थिए।
व्यापारीहरूले यस पटक मात्रै नभई अघिल्ला वर्षहरूमासमेत सरकारी अनुगमन टोलीलाई असहयोग गर्दै आएका थिए। अब उप्रान्त आफूहरूबाट कुनै प्रकारको असहयोग नहुने व्यापारीहरूको प्रतिबद्धता छ।
उनीहरूले सबै पसलहरूमा अनिवार्य रूपमा खरिद र बिक्री बिल राख्ने, सामानको मूल्यसूची राख्नुका साथै नियमित सरसफाइ गर्ने बताएका छन्।
तरकारी तथा फलफूल व्यापारीहरूका उचित समस्याको सरकारले सम्बोधन गर्न सक्ने मन्त्री भण्डारीले बताए। त्यसका लागि अनुगमन टोली जाँदा व्यापारीहरू भाग्नुभन्दा अनुगमनमा सहयोग गर्नुपर्ने उनको भनाई छ।
कात्तिक १०, २०८१ शनिबार २१:०९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।