विराट कोहली र रोहित शर्मा नै चल्न नसकेपछि १२ वर्षपछि भारतले घरेलु मैदानमा टेस्ट सिरिज हार्यो
काठमाडौं : भारतले पुणे टेस्टमा न्युजिल्यान्डसँग ११३ रनको फराकिलो अन्तरले पराजय ब्यहोरेको छ। यो पराजयसँगै भारतले १२ वर्षमा पहिलो पटक घरेलु सिरिज गुमाएको छ।
तीन खेलको सिरिजमा न्युजिल्यान्ड अहिले २-० ले अघि छ। न्युजिल्याण्डले पहिलो पारिमा २५९ रन बनाएको थियो। जवाफमा भारतको पहिलो पारि १५६ रनमा समेटिन पुग्यो।
१०३ रनले अघि रहेको न्युजिल्याण्डले दोस्रो पारिमा ३५५ रन बनाएपछि भारतले ३५९ रनको लक्ष्य पाएको थियो। जसलाई भेट्टाउन कठिन रहेको पिचमा भारतले अन्ततः पराजयको सामना पुग्यो।
भारतले लक्ष्य पच्छ्याउने क्रममा ओपनर यसश्वी जयसवालले सर्वाधिक ७७ रन बनाउँदा अन्तिमतिर रविन्द्र जडेजाले ४२ रनको पारि खेले। तेस्रो धेरै रनको रुपमा शुभमन गीलले २३ रन बनाएका थिए।
भारतका विराट कोहली, रोहित शर्मा जस्ता स्टार खेलाडीहरू चल्न सकेनन्।
मिचेल सान्टनरले पहिलो इनिङमा ५३ रन खर्चिएर ७ विकेट लिएका थिए भने दोस्रो इनिङमा १०४ रन दिएर ६ विकेट लिए।
रोहित शर्माले पोस्ट-म्याच प्रेजेन्टेसनमा भने, ‘हामीले पर्याप्त रन बनाउन सकेनौं। टेस्ट म्याच जित्न चाहन्छौं भने २० विकेट लिनुपर्छ, तर ब्याटरहरूले पनि बोर्डमा रन राख्नुपर्छ। हामीले पहिलो इनिङमा पर्याप्त रन बनाएनौं र त्यसले खेलमा पछि पर्यौं।’
भारतले अब तेस्रो टेस्टमा मुम्बईमा खेल्दै सिरिजलाई २-१ बनाउनुपर्ने दबाबमा छ। साथै, आगामी वर्षको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्न भारतले आवश्यक अंक बटुल्नुपर्नेछ।
रोहितले भने, ‘हामी वानखेडेमा राम्रो प्रदर्शन गर्दै त्यो टेस्ट म्याच जित्ने प्रयास गर्नेछौं। यो सामूहिक असफलता हो, जसलाई सुधार्ने प्रयास गर्नेछौं।’
कात्तिक १०, २०८१ शनिबार १९:४८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।