विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न रोहितको कप्तानीमा नेपाली टिमको घोषणा

विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न रोहितको कप्तानीमा नेपाली टिमको घोषणा

काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ। नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ। 

नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिजपछि अमेरिका पुगेको हो। अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो।  

रोहित पौडेलको कप्तानीमा चयन गरिएको यो टोलीमा अनुभवी र प्रतिभाशाली खेलाडीहरूको समावेश गरिएको छ। 

अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिजमा सन्दीप लामिछाने पनि खेल्ने छन्। उनी अमेरिकाविरुद्धको टी-२० मा खेलेका थिएनन्। 

क्यानले कप्तान रोहित पौडेलको नेतृत्वमा घोषित १५ सदस्यीय टोलीमा ओपनर कुशल भुर्तेल, अनुभवी विकेटकीपर–ब्याटर आसिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्। 

ओपनर र मध्यक्रममा कुशल मल्ल, आरिफ शेख, अनिल साह, भीम सार्की लगायत खेलाडीले ब्याटिङ जिम्मेवारी सम्हाल्नेछन्। 

बलिङतर्फ, सन्दीप लामिछानेको नेतृत्वमा स्पिन आक्रमण सम्हाल्ने जिम्मेवारीमा ललित राजवंशी, कुशल मल्ल र अन्य बलरहरू छन्। मध्यम र तीव्र गतिका बलरहरू सोमपाल कामी, करण केसी र गुल्सन झाको उपस्थिति टिमको बलिङ आक्रमणलाई बलियो बनाउने छ।  

वैकल्पिक खेलाडीको रुपमा सागर ढकाल र देव खनाललाई राखिएको छ।  

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले पहिलो खेल आइतबार अमेरिकाविरुद्ध खेल्नेछ। घरेलु मैदानको फाइदा उठाउँदै अमेरिका पहिलो खेलमा नेपालको लागि चुनौतीपूर्ण प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ। 

लिग २ को तालिकामा नेपालले अहिलेसम्म ३ अंक बनाएर आफूलाई सातौं स्थानमा राखेको छ।  

कात्तिक ९, २०८१ शनिबार १९:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।