सापकोटाको ओली लक्षित टिप्पणी : 'संसद्लाई झम्टि-झम्टि विघटन गर्न खोज्नेले आज पार्टीहरूलाई फुटाउन लागेको छ'
काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आफूहरू सरकारको रवैया हेरेर नबस्ने भन्दै अझै सशक्त आन्दोलनको तयारीमा रहेको चेतावनी दिएका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सरकारविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्दै उनले आफूहरू सरकारको रवैया हेरेर नबस्ने भन्दै आवश्यकता पर्यो भने सशक्त आन्दोलनको तयारीमा पनि रहेको बताए।
उनले भने, ‘हामी धेरै प्रष्ट शब्दमा खबरदारी गर्न चाहन्छौं। खरबदारीले पुगेन भने यसलाई अझै प्रभावकारी ढंगले देशव्यापी रुपमा जनपरिचालन गर्ने छौं। सरकारको रवैया हेरेर फेरि आवश्यकता पर्यो भने सशक्त आन्दोलनको तयारीमा पनि छौं।’
उनले वर्तमान सरकारले पटक पटक प्रतिनिधिसभालाई झम्टिझम्टि विघटन गर्न खोजेको र आजपनि पार्टीहरूलाई फुटाउने, विभाजन गर्ने हर्कत गरिरहेको आरोप लगाए।
सरकारले जनताको हितमा कुनै पनि काम नगरेको कारण लोकतन्त्रको कुरा गर्नु हास्यास्पद रहेको उनको भनाई छ।
उनले भने, ‘यो सरकारले लोकतन्त्रको कुरा गर्नु सरासर हास्यास्पद र लज्जाजनक छ। किनकी पटक पटक प्रतिनिधिसभालाई झम्टि झम्टि विघटन गर्न खोज्नेले आज पनि पार्टीहरूलाई फुटाउने विभाजन गर्ने अनेक हर्कत गरिरहेको छ। के पार्टीहरूलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ?’
लोकतन्त्रको मर्म र भावना सरकारमा बसेकाले भन्दा बढी आफूहरुले बुझेको उनको दाबी छ।
कात्तिक १०, २०८१ शनिबार १८:२३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।