नेपाली फिल्ममा चोरीको महाभारत : हलिउडदेखि कोरियनसम्मको 'उधारो' कथा

नेपाली फिल्ममा चोरीको महाभारत : हलिउडदेखि कोरियनसम्मको 'उधारो' कथा

काठमाडौँ : नेपाली फिल्मको टिजरदेखि टेलर रिलिजमै पोल खुल्छ फिल्मको कथा अनि प्लटहरु कताबाट चोरिएका हुन् भनेर। उदाहरण रिलिजको तयारीमा रहेको फिल्म ह्र्श्व दीर्घको टिजरका केही दृष्य।

दक्षीण भारतीय फिल्मी नगरका एकसाएक चर्चित कलाकार लिएर निर्माण भएको नेपाली फिल्मको टिजरमा राखिएका केही सटहरु दक्षीण भारतीय फिल्म ‘मगधिरा’सँग मिलेको देखिन्छ। कथा पनि उस्तै त हैन? शंका गर्ने ठाउँ छ।

तर यसका निर्माता तथा अभिनेता हरिहर अधिकारी ह्र्श्व दीर्घ र  मगधिराको कुनै सम्बन्ध नभएको दाबी गर्छन्। कथा आफूले लेखेको र त्यो कतैबाट चोरी नभई मौलिक भएको उनको दाबी छ।

'यो म आफैँले लेखेको कथा हो। यो कुनै फिल्मसँग मिल्दैन। टिजरमा कपडाको कलर अनि भिरबाट हामफालेको सिन मिल्यो भनेर चोरी हो भन्न मिल्दैन,' उनले भने 'पुरै फिल्म हेरेपछि मिलेको छ या छैन थाहा भइहाल्ने विषय हो। त्यो बेला लेख्नुहोला।'

उनले निकै मिहेनत गरेर मौलिक फिल्म निर्माण गरेको दाबी समेत गरे। हरिहरको दाबी सत्य हो या मगधिराकै प्लट र कथामा फिल्म बनेको, त्यो फिल्म रिलिजपछि पुष्टि हुन्छ नै। 

OOO

अक्सफोर्ड युनिभर्सिटी प्रेसको शब्दकोशमा ' अर्काको काम वा विचारलाई मूल स्रोतको पूर्ण स्वीकृति बिना आफ्नो कार्यमा समावेश गरी आफ्नै रूपमा प्रस्तुत गर्नु' लाई प्लेजरिजमको रुपमा परिभाषित गरेको छ।

यो परिभाषाको कसिमा राखेर अधिकांश नेपाली फिल्महरु हेर्ने हो भने निर्माण टिम 'फिल्म निर्माण समूह' हुन् कि बौद्धिक चोरी समूह प्रश्न उठ्छ नै।  

नेपाली फिल्म क्षेत्रमा मौलिक कथामा काम गर्नेहरु नभएका हैनन्, छन्। जस्तो हालै रिलिज भएको फिल्म साम्बाला अनि त्यसका निर्देशक मीन भाम। तर नेपाली फिल्म क्षेत्रमा भामहरुको हैन बौद्धिक सम्पत्ती चोरेर आफ्नो नाममा बिकाउने ‘ समूहको प्रभाव बढि नै देखिन्छ। कसैले अर्काको फिल्मको पुरै सेटै उडाएर मौलिक भनेर गफ दिन्छन्, कतिले प्लट र सिनहरु।

कुन नेपाली फिल्म कताबाट उडाएका हुन् भनेर लेख्ने हो भने धेरै लामो हुनसक्छ विवरण। यहाँ आफूलाई अब्बल निर्देशक अनि लेखक दाबी गर्नेहरुको कामबारे उल्लेख गरिएको छ।

मौलिक फिल्म निर्माणको संख्या नबढेको हैन, बढिरहेको छ। तर हलमा यस्तै चोरी गरेका, कथा र प्लट चोरचार पारेका फिल्म ब्यापारिक रुपमा ब्लकबस्टर हुँदा चोरीमा सक्रिय समूह निरुत्साहित हैन उत्साहित भइरहेका छन्।

नेपाली फिल्म ‘धड्कन’ हिन्दी फिल्म ‘इश्क’ को कार्वन कपी थियो। यसका निर्देशक नरेश पौडेलले ढाँटेनन् पनि। उनले यो हिन्दी फिल्म इश्कको नेपाली रिमेक भएको स्विकारे सार्वजनिक रुपमै।

पहिला-पहिला हिन्दी फिल्मको सिडी लेखकलाई दिएर यस्तै कथा अनि पटकथा चाहियो भन्नेहरू अहिले फिल्मका लिंक पठाउँछन्, पठाउने क्रम जारी छ। तर चोरी समातिँदा पनि उनीहरू 'संयोग हो, भारत र नेपालको सामाजिक परिवेश उस्तै भएर उस्तै लागेको मात्र हो' जस्तो हावा दाबी गर्छन् प्रतिरक्षामा। कतिले त हिन्दी फिल्म रिलिज हुनुभन्दा अगाडि नै आफूले कथा लेखेको दाबी समेत गरेको उदाहरण छन्।

चोरी गरेर निर्माण भएका केही फिल्महरु हेरौँ। 

गणेशदेव पाण्डेले बनाएको फिल्म ‘मञ्जरी’ बंगाली फिल्म ‘चिरोदिनी तुमी जे अमर’ को नेपाली अनुवाद थियो। तर उनले कतै पनि यसबारे स्विकार गरेनन्। पोल खुलेपछि चुपचाप बसे।

हिन्दी फिल्म ‘मुम्बई एक्सप्रेस’ को कथा मात्रै हैन, पात्र र चरित्रचित्रणसँगै फिल्मको कथावाचन शैलीसमेत सर्लक्क चोरेर ‘कोहलपुर एक्सप्रेस’ बन्यो। तर कतै पनि यो चोरी स्विकारेनन् टिमले, प्रारम्भमा ढाँटीरहे। पछि आएर फिल्म निर्मात्री केकी अधिकारीले आफ्नो टिमको बदमासी स्विकारिन्। 

तामिल फिल्म ‘थुल्लाध मनमुम थुल्लुम’ नेपालीमा ‘पर्खी बसें’ को नाममा बन्यो।  यही तामिल फिल्मको कथामा लाजै पचाएर ‘को होला मेरो मायालु’ नाममा अर्को नेपाली फिल्म पनि बन्यो।

नेपालको चर्चित फिल्म ‘चिनो’माथि पनि ‘शोले’बाट चोरी गरेको आरोप लागेको थियो। अभिनेता शिव श्रेष्ठ र भुवन केसीको चरित्र अमिताभ बच्चन र धर्मेन्द्रको चरित्र जस्तै थियो। उता ठाकुर बनेका पात्र पुरुष थिए भने यता महिला सुभद्रा अधिकारीको चरित्र ठाकुरको जस्तै थियो। गब्बर सिंह चिनोमा आउँदा राते काइला भएका थिए।

भारतीय फिल्म चोरेर नेपाली फिल्म बनाउने धेरैको पोल खुलेपछि निर्माता अनि निर्देशक अन्य भाषाका फिल्मतिर सल्कदै कोरियन फिल्मतिर लागे।

‘सानो संसार’  रिलिज भयो। निर्देशक आलोक नेम्वाङको खुबै प्रशंसा भयो। पछि खुल्यो यो त कोरियन फिल्म ‘माई स्यास्सी गर्ल’ को कपी पो रैछ।

पछिल्लो समयमा रिलिज भएका फिल्महरुमा दक्षीण भारतीय फिल्मसँगै  एनमिलको रणविर कपुरको सटहरु कपी गर्ने रोग खुब बढेको छ। पुरै कथा उडाउन छाडेर निर्देशकहरु फिल्मका फ्रेम अनि क्लाइमेस्सतिर लागेको पनि देखियो। 

सफल निर्देशक दाबी गर्ने सुदर्शन थापाले ‘मिलिनियर्स फस्ट लभ’ को स्क्रिप्टलाई नेपालीमा अनुवाद गरेर ‘मेरो एउटा साथी छ’ बनाए। एउटै फिल्मको स्क्रिप्ट नै सार्दा थाहा पाए भनेर उनले भारतीय फिल्म ‘जब वी मेट’ र ‘कयामत से कयामत तक’ मिसाएर  ‘प्रेमगीत’ बनाइदिए। 

आर्यन सिग्देल चैँ दक्षीण भारतीय फिल्मतिर लागेर अल्लु अर्जुनको ‘परुगु’ लाई ‘दबाब’ नाम राखेर रिलिज गरे। क्रियटिभ निर्देशक मानिने प्रदीप भट्टराइको निर्देशन यात्रा हलिउड फिल्म ‘डन्ट ब्रिद’ लाई ‘शेरबहादुर’ नाम राखेर सबै फ्रेम कपी गरेर शुरु भएको थियो। उनले निर्देशन गर्ने पछिल्ला कमेडी जनारामा फिल्म कुनै ‘हेराफेरी’ फ्लेवरका देखिन्छन् त कुनै धमाल।

मौलिक नेपाली फिल्म भनेर हल्ला गरेको प्रेम गीत-३ सिधै बाहुबलीको छायाँ देखियो। यी दुबै फिल्मको भिन्नता भनेको अभिनय र फिल्मको भिएफएक्सको गुणस्तरमा मात्र थियो। यी दुबैमा बाहुबली ग्रेड ए तहको फिल्म थियो भने प्रेम गीत ३ ग्रेड सि तहको।

पछिल्लो समयमा रिलिज भएका फिल्महरुमा दक्षीण भारतीय फिल्मसँगै  एनमिलको रणविर कपुरको सटहरु कपी गर्ने रोग खुब बढेको छ। पुरै कथा उडाउन छाडेर निर्देशकहरु फिल्मका फ्रेम अनि क्लाइमेस्सतिर लागेको पनि देखियो।  मौलिक फिल्म निर्माणको संख्या नबढेको हैन, बढिरहेको छ। तर हलमा यस्तै चोरी गरेका, कथा र प्लट चोरचार पारेका फिल्म ब्यापारिक रुपमा ब्लकबस्टर हुँदा चोरीमा सक्रिय समूह निरुत्साहित हैन उत्साहित भइरहेका छन्।

यसले भोलीका दिनमा पनि अर्काको फिल्मका कथा, पटकथा, चरित्रचित्रण अनि प्लटहरु उडाउनेक्रम जारी नै राख्ने जोखिम देखिन्छ।

*समाचारको हेडलाइन परिवर्तन गरिएको छ।

कात्तिक ९, २०८१ शनिबार १८:२१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।