कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी 'दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गर्नु गल्ती थियो'
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको बताएका छन्।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले बाढी-पहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनःस्थापनामा लापर्वाही नगरोस् भनेर खबरदारी गरेको बताए।
यो सरकार सुशासनका विरूद्ध बनेको, आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताए।
आफूहरूले खबरदारीसभा राख्ने बित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख उनले भने, ‘हामीले सरकार ढाल्न खबरदारीसभा गरेका होइनौं, बरू सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो।’
माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनले बरू आफूहरूले दलाल र पुँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए।
भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादी पनि के के हो भन्ने जनतालाई परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको बताए।
अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रचण्डले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए।
कात्तिक ९, २०८१ शनिबार १७:५३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।