प्रचण्डको आरोप 'सरकार कुलमानलाई हटाउन अनि माओवादी फुटाउन षड्यन्त्र गरिरहेको छ'

प्रचण्डको आरोप 'सरकार कुलमानलाई हटाउन अनि माओवादी फुटाउन षड्यन्त्र गरिरहेको छ'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफैं कुहिएर झर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा पार्टीद्वारा आयोजित सरकारविरूद्ध खबरदारी कार्यक्रममा उनले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको होइन भनेका छन्। 
 
उनले भने, ‘तपाईंहरू जसरी भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ तपाईंहरू आफैं कुहिएर झर्नु हुनेछ, त्यो दिन हामीलाई दोष दिन पाउनु हुने छैन।’ 

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन षड्यन्त्र गरिरहेको प्रचण्डको आरोप छ। 

आफ्नो नेतृत्वमा बनेको सरकारले जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि देशमा लोडसेडिङको अन्त्य भएको बताउँदै अध्यक्ष प्रचण्डले अहिलेको सरकार जनार्दन, कुलमान, नारायणकाजी र प्रचण्डको नाम सुनेर नै त्रसित भएको दाबी गरे। 

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई समेत फुटाउने षड्यन्त्र भइरहेको बताए। 

उनले भने, ‘माओवादीलाई समाप्त गर्न उनीहरू लागेका छन्। त्यसका लागि उनीहरू दिनरात लागेका छन्। प्रचण्ड रहेसम्म केही गर्न सकिँदैन भनेर उनीहरूलाई चिन्ता छ।’ 

कात्तिक ९, २०८१ शनिबार १६:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।