ज्ञानेन्द्र शाहलाई भेटेको अफवाह मात्र भएको दाबी गर्दै प्रचण्डले भने ‘वरिष्ठ पत्रकारको कान कसले भरेछ’

ज्ञानेन्द्र शाहलाई भेटेको अफवाह मात्र भएको दाबी गर्दै प्रचण्डले भने ‘वरिष्ठ पत्रकारको कान कसले भरेछ’

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन्।माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको खबरदारी सभामा उनले यो ज्ञानेन्द्रलाई भेटेको भन्ने दाबी अफवाह मात्र भएको दाबी गरे।

‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बिच बाटोबाट फर्केको सुनेको छैन’ प्रचण्डले भने ‘जसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दै छ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला?’

एकै कार्यक्रममा रहेकाले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसँग भेट भएको भन्दै उनले हिजोको पत्रकार समेत रहेकाले उनले भेट्छु भनेपछि भेटेको दाबी गरे।

एक वरिष्ठ पत्रकारले समेत प्रचण्डले ज्ञानेद्रलाई भेटेको भनेर लेखेको भन्दै भने ‘कसले उनको कान भरेछ।’

उनले सभामा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको दाबी समेत गरेका थिए।

अध्यक्ष प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको उल्लेख गर्दै अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको दाबी समेत गरे।

उनले चार दिनको तयारीले गरेको खबरदार सभाले सरकार तर्सेको उल्लेख गर्दै भोली ठुलै विरोध सभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरेका थिए।

उनले आफूहरूले जनताका मुद्दालाई ज्ञापन पत्रको रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलन चर्कँदै जाने चेतावनी समेत दिए।

बाढी पहिरो पीडितलाई राहत, उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरूले थालेको सुशासनको अभियान, ऊर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने उनको चेतावनी थियो।

अहिले देशका दलाल, भ्रष्ट र बिचौलियाहरूलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्ड ठुलो त्रासको रूपमा देखिन थालेको र जनतालाई फेरि एक पटक माओवादीलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको दाबी समेत गरेका थिए।

कात्तिक ९, २०८१ शनिबार १६:०७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।