प्रचण्डको चेतावनी 'हाम्रो खबरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ'

प्रचण्डको चेतावनी 'हाम्रो खबरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित सरकारविरूद्ध खबरदारी कार्यक्रममा उनले सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेकाले गम्भीर हुन चेतावनी दिए।

उनले भने, ‘सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ। म सरकारलाई गम्भीर रूपले लिन चुनौती दिन चाहन्छु। सरकारलाई हिजोको लापरबाही फेरि नदोहोरियोस् भनेर खबरदारी पनि दिन चाहन्छु। उद्धार, राहत र पुनःस्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस्।’

यसको साथै, उनले आफूलाई जे चिन्ता लागेको थियो आज सय दिन पुग्दा नपुग्दै त्यो चिन्ता सरकार आफैंले पुष्टि गरेको बताए।

उनले भने, ‘यो सरकार केका लागि बन्यो र कसरी बन्यो भनेर हेर्दा यो सरकार सुशासनका विरूद्ध बन्यो, यो सरकार भ्रष्टाचारी बचाउन बन्यो र यो सरकार रातको अँध्यारोमा आफ्नै पार्टी पङ्तीलाई समेत ढाँटेर षडयन्त्रको तरिकाले बन्यो। सरकार दलालहरूका घर घरमा गएर रातको १२ बजे बन्यो, हाम्रो चिन्ता त्यहाँ छ भनेर मैले भनेको थिएँ। आज सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ।’

सरकार भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरुको पक्षमा लागेको भन्दै यो सरकार आफैं कुहिएर झर्ने उनको भनाई छ।

उनले भने, ‘तपाईंहरु जसरी भ्रष्टाचारीहरूको रक्षाको लागि सुशासनका विपक्षमा बिचौलियाहरूको पक्षमा जाँदै हुनुहुन्छ तपाईंहरू आफैं कुहिएर झर्नु हुनेछ, त्यो दिन हामीलाई दोष दिन पाउनु हुने छैन। हामीले सरकार ढाल्नको लागि यो खबरदारी कार्यक्रम गरेको पनि होइन।’ 

कात्तिक ९, २०८१ शनिबार १५:५८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।