०८४ मा एमालेसँग भिड्न डराए शेखर, सत्ता सहकार्य गर्नुपरेकोमा पनि सन्तुष्ट देखिएनन्

०८४ मा एमालेसँग भिड्न डराए शेखर, सत्ता सहकार्य गर्नुपरेकोमा पनि सन्तुष्ट देखिएनन्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन्।

शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले ०८४ को चुनाव एक्लाएक्लै लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताए।

राजनीतिक दलहरूमासमेत आफ्नो मान्छेलाई टिकट बाँड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए।

उनले भने, ‘अब उम्मेदवारी दिँदा कसले जित्नसक्छ भनेर उम्मेदवार खोज्नुपर्ने हुन्छ। टिकट बाँड्ने बेलामा आफ्नो मान्छेलाई टिकट बाँड्ने चलन नै छ। यसले हामीलाई बिगारिरहेको छ। अहिले सबै पार्टीहरू एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन्। हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरूको रणनीतिक चाल हो। एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि।’

त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए।

सहमतिअनुसार सुरूवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने उनले जिकिर गरे।

‘उहाँहरूबीचको सहमति अनुसार दुई बर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ। कांग्रेसको चाहना पनि त्यही हो, उनले भने। 

एमालेसँग आफूहरूको सम्बन्ध प्रतिस्पर्धात्मक भएपनि उसैसँग सहकार्य गरिरहनु परेकोमा आफू सन्तुष्ट नरहेको उनले संकेत गरे। 

एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको अनि त्यसैले पनि एमालेसँग भिड्न राम्रो तयारी गर्नु पर्ने उनको तर्क छ।  

‘हामीहरूको प्रतिस्पर्धी एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ। हामीलाई अप्ठ्यारो त्यहाँ परेको छ। सरकारमा बसेकाहरूले सहकार्य गरून्, बाहिर हामीहरू छौं। हामीहरूले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ। होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ, उनले थपे।  

कात्तिक १०, २०८१ शनिबार १५:३९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।