५६ देशका नेताहरूका अगाडि बेलायतका राजा चार्ल्सले उपनिवेशवाद स्विकारे

५६ देशका नेताहरूका अगाडि बेलायतका राजा चार्ल्सले उपनिवेशवाद स्विकारे

एजेन्सी : बेलायतका राजा चार्ल्सले राष्ट्रमण्डल शिखर सम्मेलनमा बोल्दै ब्रिटेनको विगतको उपनिवेशवाद र यसले पुर्याएको पीडालाई स्वीकार गरेका छन्।

तर, धेरै राष्ट्रका नेताहरूले अपेक्षा गरेको दास प्रथाको लागि वित्तीय क्षतिपूर्ति सम्बन्धी प्रत्यक्ष संवाद भने नगरीकन, विगतका पाठलाई भविष्यका सही निर्णयका लागि मार्गदर्शक बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरे।

समोआमा भएको राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठक (चोगम) मा पहिलोपटक राजा चार्ल्सले सहभागीता जनाउँदै ५६ राष्ट्रमण्डल राष्ट्रका नेताहरूसँग सम्बोधन गरेका थिए।

सम्बोधनमा उनले जलवायु संकट, विकास चुनौतीहरू र महारानी एलिजाबेथलाई सम्झना गर्दै ऐतिहासिक अन्यायका पाटाहरूलाई स्वीकार गर्ने उल्लेख गरे।

चोगममा सामेल भएका कतिपय अफ्रिकी र क्यारेबियन नेताहरूले ब्रिटेन र अन्य युरोपेली शक्तिहरूले विगतको दास प्रथाको लागि वित्तीय मुआब्जा दिनुपर्ने माग गरे।

बहामासका प्रधानमन्त्री फिलिप डेभिसले विगतका अत्याचारहरूको सम्बोधनको माग गर्दै भने, 'यो समय गम्भीर वार्ताको हो। न्यायको यो संघर्ष अझै समाप्त भएको छैन।'

विवादको सन्दर्भमा ब्रिटिश प्रधानमन्त्री कियर स्टारमरले भने वित्तीय मुआब्जाको सट्टा, गैर–वित्तीय क्षतिपूर्तिको सम्भावना खुला रहेको संकेत दिएका छन्। यस अन्तर्गत वित्तीय संस्थाहरूको पुनर्रचना र ऋण राहतको प्रस्ताव पनि सामेल हुन सक्नेछ।

संगठनका पूर्व महासचिव पेट्रिसिया स्कटल्यान्डले उद्घाटन भाषणमा उपनिवेशवादको इतिहासलाई स्वीकार गर्दै राष्ट्रमण्डलका राष्ट्रहरूले आपसी समानतामा रहेको भनेका थिए।

सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्सका प्रधानमन्त्री राल्फ गोंसाल्भेसले ब्रिटिश उपनिवेशवादले स्वदेशी समुदाय र अफ्रिकी दासहरूको जीवनमा गहिरो प्रभाव पुर्याएको भन्दै दास प्रथाको अन्त्यपछि उनीहरूलाई कुनै पनि प्रकारको राहत नदिइएकोमा ध्यानाकर्षण गराए।

राजा चार्ल्सले आफ्नो सम्बोधनमा राष्ट्रमण्डलका जलवायु संकट र विकास समस्याहरूलाई पनि उठाउँदै असमानताहरूले राष्ट्रहरूबीच विभाजन र द्वन्द्व सिर्जना गर्न सक्ने चेतावनी दिए।

यस शिखर सम्मेलनले ब्रिटेनको विगतको उपनिवेशवाद र दास प्रथाको विरासतलाई न्यायपूर्वक सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको कुरामा बल दिएको छ। 

कात्तिक १०, २०८१ शनिबार १५:१३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।