डा. प्रशान्तको उपचार अनुभव : डोजर हेर्न जाँदा मुढाले किचिएकी १२ वर्षीया बालिकाले हेर्दाहेर्दै प्राण त्यागेपछि...

डा. प्रशान्तको उपचार अनुभव : डोजर हेर्न जाँदा मुढाले किचिएकी १२ वर्षीया बालिकाले हेर्दाहेर्दै प्राण त्यागेपछि...

डा. प्रशान्त त्रिपाठी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्। विशेषगरी घाँटीको क्यान्सर तथा घाँटीसँग सम्बन्धित थाइरोडको क्यान्सर, जिब्रो, ओठ, गालाको क्यान्सर, स्वर यन्त्रको क्यान्सरको शल्यक्रिया तथा औषधि उपचारमा केन्द्रीत हुनु उनको दैनिकी हो।

नाक, कान घाँटीसँग सम्बन्धित समस्या भएको बिरामीको औषधि उपचार गर्नु उनको चिकित्सकीय पेशाको कर्म हो। उनै डा. प्रशान्तले चिकित्सकीय पेशाको शिलशिलामा देखे भागेका अनुभव उकेरासँग साटेका छन्।

डोजर हेर्न गएकी १२ वर्षीया बालिकाले हेर्दाहेर्दै प्राण त्यागेपछि...
करिब १७ वर्षअघि डा. प्रशान्त दोलखाको चरिकोटस्थित एक सामुदायिक अस्पतालमा काम गरिरहेका थिए। त्यो बेला चरिकोटमा सडक बनिरहेको थियो। करिब १२ वर्षकी बालिका पनि डोजरले बाटो बनाएको हेर्न गइछन्। ती बालिका सडक बनाइरहेको नजिक थुपारिएका मुढामाथि चढेर डोजरले खनेको रमिता हेर्न थालिछन्।

दुर्भाग्य, ती बालिका चढेको मुढो अचानक पल्टिएर उनैलाई किचेछ। तत्कालै उनलाई चरिकोटस्थित अस्पतालमा पुर्याए। त्यो दिन डा. प्रशान्त अस्पतालमा ड्युटीमा नै थिए। डा. प्रशान्तको टिमले बालिकाको अवस्था हेर्दा उनको शरीरका विभिन्न भागमा गम्भीर चोट थिए।

बालिकाको श्वासप्रश्वासको नाममा ढुकढुकी मात्रै बाँकी थियो। स्वास्थ्य अवस्था हेर्दा घाइते बालिका मृत्युको मुखमा पुगिनै सकेकी थिइन्। ती बालिकालाई दश मिनेट भित्रै भेन्टिलेटरमा राख्न सकेको खण्डमा बचाउने झिनो आशा मात्रै बाँकी थियो। दुर्भाग्य, न त्यो अस्पतालमा भेन्टिलेटर थियो, न नजिकका अन्य कुनै अस्पतालमा नै त्यस्तो सुविधा थियो। त्यहाँबाट रिफर भएर धुलिखेल पठाउनुपर्थ्यो।

रेफर गरेर पनि अस्पतालसम्म पुर्याउनै सम्भव नभएपछि चिकित्सकको टिमले त्यहीँ नै ती बालिकालाई बचाउने कोशिस गर्यो। चिकित्सकको टिमले उपचार थालेको केहीबेरमा ती बालिकाले अस्पतालमै प्राण त्यागिन्।

ती बालिकाको मृत्युको घटनाले एक हप्ताभन्दा बढी डा. प्रशान्तलाई काम गर्न समेत असहज भयो। त्यो बेला ती मुढाले किचिएकी करिब १२ वर्षीय बालिकालाई बचाउन सम्भव नभएको त्यो घटना सम्झँदा अझै डा. प्रशान्तको मन कटक्क हुन्छ। मन भारी हुन्छ।

बिरामीको यस्तो विस्वास
करिब चार वर्षअघि त्रिवि शिक्षण अस्पतालमा काम गर्दाको अर्को प्रसङ्ग डा. प्रशान्तले सुनाए। थाइरोइडमा मासुको ट्युमर भएका करिब ४५ वर्षका पुरुष उपचारका लागि अस्पताल पुगेछन्। अन्य अस्पतालमा गराएको परीक्षणमा थाइरोइडको क्यान्सर हुनसक्ने लक्षण देखिएको रहेछ।

शिक्षण अस्पतालमा पुगेका ती पुरुषको डा. प्रशान्तको टिमले शल्यक्रिया गरी थाइरोइडमा पलाएको मासु काटेर फाल्यो। त्यसपछि त्यो मासुको डल्लोको परीक्षण गर्दा ती पुरुषलाई थाइरोइडको क्यान्सर नभएको पुष्टि भयो।

क्यान्सर नभएको थाहा पाएपछि ती पुरुष एकदमै खुसी भएछन्। ती पुरुषले डा. प्रशान्तलाई भनेछन्, ‘तपाईंले राम्रो अप्रेशन गरिदिएको भएर मलाई क्यान्सर भएन।’

उनी अहिले पनि बेलाबेलामा फलोअपमा पुग्दा ‘डाक्टरसापले राम्रो अप्रेशन गरेकाले मलाई क्यान्सर भएन, म बाँचे’ भन्दा रहेछन्। तर, वास्तवमा ती पुरुषको शल्यक्रिया गरेर क्यान्सरको ट्युमर फालेको नभई ती पुरुषलाई क्यान्सर नै नभएको डा. प्रशान्तले सुनाए।

जुन कुरा उनले ती पुरुषलाई पनि भन्ने गरेका छन्। ती पुरुषले भने अझै पनि डाक्टरले राम्रो अप्रेशन गरिदिएकाले नै आफूलाई क्यान्सर नभएको भन्ने गरेको डा. प्रशान्त सम्झन्छन्।

ती पुरुष अहिले पनि फलोअपमा आउने गरेको र ठिकठाक रहेको उनले सुनाए। तर, कहिलेकहीँ भने शल्यक्रिया गर्दा अपजस पनि पाइने गरेको अनुभव उनले सुनाए। शल्य चिकित्सक जतिखेर पनि आउने अपजसका लागि मानसिक रूपमा तयार हुनुपर्ने उनको भनाइ छ।

चिकित्सकको सुझावलाई सामान्य रूपमा लिँदा...
त्यसैगरी स्वर यन्त्रको क्यान्सर भएकी एक जना महिलाको रोगको पहिचान नै ढिलो हुँदा बिरामीले दुःख पाउनु परेको अवस्थाले डा. प्रशान्तको मन चसक्क हुन्छ। केही वर्षअघि घाँटीमा समस्या भएर एक जना महिला त्रिवि शिक्षण अस्पताल पुगिन्।

स्वास्थ्य परीक्षणको क्रममा ती महिलाको घाँटीको स्वर यन्त्रमा क्यान्सर हुनसक्ने संकेत देखियो। त्यसैले चिकित्सकको टिमले थप स्वास्थ्य परीक्षण गरेर क्यान्सर भए नभएको एकिन गर्न सुझाव दियो। तर, ती महिलाले आफूलाई क्यान्सर भएको छैन होला भनेर वास्तै गरिनछन्।

पछि ती महिला पुनः अस्पताल पुगिन्। तर, त्यो बेला ती महिलालाई श्वासप्रश्वासमै कठिन भइसकेको थियो। यस्तो अवस्थामा चिकित्सकको टिमले तुरुन्तै घाँटीमा प्वाल बनाई पाइप राखेर श्वास फेर्न सहज बनायो। यसरी घाँटीमा प्वाल बनाएर श्वास फेर्न सहज बनाउने विधिलाई चिकित्सकीय भाषामा ‘ट्याकेस्टोमी’ भनिन्छ।

चिकित्सकको टिमले ती महिलाको घाँटीको परीक्षण गरेर हेर्दा त घाँटीमा क्यान्सर भएर जटिल बनिसकेको थाहा भयो। ती महिलाको मुटुमा समेत समस्या भएकाले ती महिलाको घाँटीको शल्यक्रिया गर्न सम्भव भएन।

स्वर यन्त्रको क्यान्सर भएको खण्डमा सेक्ने वा शल्यक्रिया गरी दुई तरिकाले उपचार गर्न सकिने उनले बताए। त्यसैले अहिले ती महिलाको रोग ठिक बनाउन नसकिएको र जीवन लम्ब्याउन तथा जीवनको सहजताका लागि मात्रै औषधि उपचार भइरहेको डा. प्रशान्तले सुनाए।

चिकित्सकले सल्लाह दिएकै समयमा ती महिलाको उपचार भएको भए ती महिलाको रोग निर्मूल गर्न सकिन्थ्यो की भन्ने डा. प्रशान्तको मनमा खड्किरहन्छ।

जन्म दोलखा, छात्रवृत्तिमा डाक्टरी
प्रशान्त दोलखाको हालको कालिन्चोक गाउँपालिकामा २०३८ मा जन्मिएका हुन्। उनले ६ कक्षासम्म स्थानीय कालिनाग माविमा पढे। उनका बुवा त्रिभुवन विश्वविद्यालमा प्राध्यापक थिए। त्यसैले प्रशान्त पनि सात कक्षापछि बुवासँग काठमाडौंमा नै बसेर पढ्न थाले।

सात र आठ कक्षा डिल्लीबजारमा रहेको विजय मेमोरियल विद्यालयमा पढे। त्यसपछि उनी नक्सालस्थित बागमती बोर्डिङ स्कुलमा नौ कक्षामा भर्ना भएर पढ्न थाले। त्यहीँबाट उनले २०५४ मा एसएलसी गरे। प्रशान्तले नेपाल साइन्स क्याम्पसबाट आइएस्सी गरे।

प्रशान्तलाई डाक्टर बन्ने इच्छा थियो। उनले सरकारी छात्रवृत्ति कोटामा नै एमबीबीएस अध्ययन गर्ने मौका पनि पाए। प्रशान्तले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा २०५७ मा भर्ना भएर एमबीबीएस अध्ययन थाले। २०६३ मा उनको एमबीबीएस अध्ययन पूरा भयो।

एमबीबीएस अध्ययनपछि डा. प्रशान्तले दोलखाको एक सामुदायिक अस्पतालमा करिब एक वर्ष काम गरे। त्यसपछि काठमाडौं नै फर्किएर हेल्पिङ ह्याण्ड्स अस्पतालमा एक वर्ष काम गरेपछि उनले संखुवासभाको तुम्लिङ्टारस्थित एक निजी अस्पतालमा गएर एक वर्ष काम गरे।

एमबीबीएसपछि यसरी विभिन्न अस्पतालमा करिब तीन वर्ष काम गरेपछि डा. प्रशान्त महाराजगञ्ज चिकित्सा क्याम्पसमा नै नाक, कान, घाँटी (इएनटीः हेड एण्ड नेक सर्जरी) विषयमा ‘मास्टर्स अफ सर्जरी (एमएस)’ अध्ययन शुरू गरे। यो स्नातकोत्तर तहको अध्ययन हो। उनले २०७१ मा तीन वर्षे नाक, कान घाँटी विषयको एमएस अध्ययन छात्रवृत्तिकै पढेका हुन्।

एमएस अध्ययनपछि डा. प्रशान्तले भक्तपुरको नरेफाँटस्थित वीपी नेत्र प्रतिष्ठानको चेयर्स अस्पतालमा करिब एक वर्ष काम गरे। त्यसपछि २०७२ मा त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा सहायक प्राध्यापकको रूपमा प्रवेश गरेका उनी अहिले त्यहाँका उप-प्राध्यापक हुन्।

महाराजगञ्ज चिकित्सा क्याम्पसमा चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने अनि त्रिवि शिक्षण अस्पतालमा नाक, कान र घाँटीमा समस्या भएका बिरामीको औषधि उपचार तथा शल्यक्रिया गर्नु डा. प्रशान्तको दैनिकी हो।

डा. प्रशान्त विशेषगरी घाँटीको क्यान्सर तथा घाँटीसँग सम्बन्धित थाइरोड क्यान्सर, जिब्रो, ओठ, गालाको क्यान्सर, श्वर यन्त्रको क्यान्सर र यस्ता अंगमा भएका ट्युमरको शल्यक्रियामा बढी केन्द्रीत हुन्छन्। उनको आफ्नो विषयसँग सम्बन्धित विभिन्न अनुसन्धानात्मक लेख प्रकाशित भएका छन्। त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिम लिनुका साथै सम्मेलनहरूमा भाग लिएको उनीसँग अनुभव छ।

त्यसो त उनलाई एमबीबीएस अध्ययन गर्दा नै शल्यचिकित्सा विधा नै पनपर्थ्यो। त्यसैले नै उनले ‘इएनटी सर्जरी’ विषय रोजेका रहेछन्। ‘ओपन सर्जरी’मा बढी रुचि भएकाले नाक, कान घाँटीमध्ये बढी घाँटीको शल्यक्रियामा नै आफू केन्द्रीत भएको उनले सुनाए। तर, उनी नाक र कानको पनि उपचार गर्छन्।

कात्तिक १०, २०८१ शनिबार ११:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।