कतारसँग ५-० गोल अन्तरले हार्‍यो नेपाल

कतारसँग ५-० गोल अन्तरले हार्‍यो नेपाल

काठमाडौं : एएफसी यु-१७ एसियन कप २०२५ को छनोट चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।

कतारमा जारी प्रतियोगितामा शुक्रबार राति नेपाल घरेलुटोलीसँग ५-० गोल अन्तरले पराजित भएको हो।

नेपालविरुद्धको खेलमा कतारका कप्तान जैद फैसलले दोस्रो लगातार खेलमा गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। खेलको २१औं मिनेटमा याजन मोहम्मदले कतारका लागि पहिलो गोल गरेका थिए।

त्यसपछि कप्तान फैसलले खेलको ४५औं, ५६औं, र ८२औं मिनेटमा ह्याट्रिक पूरा गरे। उमर अल-मर्जुकीले पनि गोल गर्दै कतारको फराकिलो जितमा योगदान गरे।

कतार जारी छनोटमा ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा जापान पनि समान ६ अंकका साथ गोल अन्तरले गर्दा अगाडि छ।

अब कतारको आगामी खेल जापानविरुद्ध हुनेछ। नेपालले भने आफ्नो अन्तिम खेल मंगोलियाविरुद्ध खेल्दै छनोटको यात्रा समाप्त गर्नेछ।

नेपाल पहिलो खेलमा जापानसँग ९-२ गोल अन्तरले पराजित भएको थियो। कतारले पहिलो खेलमा मंगोलियालाई २-० ले हराएको थियो।

कात्तिक ९, २०८१ शनिबार १०:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।