इरानी आक्रमणको २५ दिनपछि इजरायलको जवाफी कारबाही, तीन देशको हवाइ क्षेत्र बन्द

इरानी आक्रमणको २५ दिनपछि इजरायलको जवाफी कारबाही, तीन देशको हवाइ क्षेत्र बन्द

एजेन्सी : इरानको आक्रमणको २५ दिनपछि इजरायलले जवाफी कारबाही गरेको छ।

न्युयोर्क टाइम्सका अनुसार इजरायलले ३ घण्टामा २० इरानी लक्ष्यमा आक्रमण गरेको थियो।

इजरायली समयअनुसार बिहान २:१५ बजे शुरू भएको आक्रमण विहान ५ बजेसम्म जारी रह्यो। यसमा मिसाइल कारखाना र सैन्य अड्डाहरूलाई निशाना बनाइएको समाचारमा उल्लेख छ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले इजरायलले अक्टोबर १ मा भएको आक्रमणको जवाफमा इरानमा आक्रमण गरेको बताएका छन्।

‘इरान र मध्यपूर्वमा उसका सहयोगीहरूले अक्टोबर ७, २०२३ बाट इजरायललाई सात मोर्चामा आक्रमण गरिरहेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा इजरायलसँग जवाफ दिने अधिकार छ। हामी इजरायल र हाम्रा मानिसहरूको रक्षा गर्न आवश्यक पर्ने सबै गर्नेछौँ।’

आक्रमणपछि इजरायल, इरान र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।

इरानी मिडिया रिपोर्टका अनुसार आक्रमण तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको थियो। हवाई हमलापछि अमेरिकाले इजरायललाई समर्थन गर्दै इरानको आक्रमणको जवाफ दिएको बताएको छ।

अक्टोबर १ मा भएको आक्रमणपछि इरानले इजरायललाई आक्रमण नगर्न चेतावनी दिएको थियो। इजरायलले यस्तो गरेमा जवाफ दिने इरानले बताएको थियो।

यद्यपि इजरायलले धेरै सानो स्तरमा आक्रमण गरेको छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार इजरायलको आक्रमणपछि इरानको जवाफी हमलाको अपेक्षा निकै कम छ।

इरानको फार्स समाचार एजेन्सीले तेहरानको पश्चिमी र दक्षिणी क्षेत्रमा रहेका धेरै सैन्य लक्ष्यमा आक्रमण भएको जनाएको छ। यस आक्रमणबाट भएको क्षतिको विवरण आउन सकेको छैन।

कात्तिक ९, २०८१ शनिबार ०९:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।