इरानमा इजरायली आक्रमणबारे बोल्यो अमेरिका- ‘पहिल्यै जानकारी थियो, तर अमेरिका संलग्न छैन’
एजेन्सी : अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरानमाथि इजरायलको हवाई हमलामा अमेरिका संलग्न नभएको बताएको छ।
इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ। यद्यपि पेन्टागनले भने इजरायलले आफूहरूलाई आक्रमणको बारेमा पहिले नै जानकारी दिएको बताएको छ।
यसबाहेक अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई इरानमाथि इजरायली आक्रमणको बारेमा जानकारी गराइएको छ।
एक अमेरिकी अधिकारीका अनुसार राष्ट्रपतिलाई इजरायली हवाई हमलाको बारेमा जानकारी दिइएको थियो। राष्ट्रपति बाइडेनले घटनालाई नजिकबाट नियालिरहेका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पनि इजरायली आक्रमणको बारेमा जानकारी गराइएको छ र उनले पनि यस विषयमा नजिकबाट नजर राखिरहेकी छिन्।
इरानमा गरिएको हवाई हमलाको सन्दर्भमा इजरायली सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक आक्रमण’ गरिरहेको बताएको छ।
यसैबीच, इरानको सरकारी मिडियाले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ। आक्रमणको कारण स्पष्ट गर्दै बीबीसी मध्यपूर्व क्षेत्रका सम्पादक सेबास्टियन आशेरले इरानमाथि इजरायलले गरेको आक्रमण बदलाको कारबाही हुनसक्ने बताएका छन्।
सेबास्टियन आशरका अनुसार इरानले एक महिनाअघि इजरायलमा २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। इजरायली आक्रमण त्यसको जवाफ हो।
कात्तिक १०, २०८१ शनिबार ०८:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।