लिग-२ सिरिज : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको शानदार जित

लिग-२ सिरिज : अमेरिकामाथि स्कटल्यान्डको १० विकेटको शानदार जित

काठमाडौं : अमेरिकाको टेक्ससमा जारी विश्वकप लिग-२ अन्तर्गत अमेरिका, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्यान्डले घरेलु टोलीलाई पराजित गरेको छ।

स्कटल्यान्डले टेक्ससस्थित ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीमाथि १० विकेटको शानदार जित दर्ता गरेको हो। अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्यान्डले २४.५ ओभरमा पूरा गर्यो।

उसका लागि एन्ड्रु उमीदले ९८ रनको अविजित अर्धशतकीय पारी खेल्दा चार्ली टियरले अविजित ४३ रन जोडे।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको अमेरिकाले ३८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १४४ रन जोड्यो। उसका लागि स्याड्ली भान स्कल्कवेकले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक हरमित सिंहले २२ र नोस्थुस केन्जीले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। यसमा पनि अमेरिको अतिरिक्त २५ रन दिएको थियो।

जितसँगै स्कटल्यान्ड लिगको आठ खेलमा पाँचमा जित निकालेर ११ अंकसहित चौथो स्थानमा हुँदा नौ खेल खेलेको अमेरिका ६ खेलमा जितसहित १२ अंक बनाएर दोस्रो स्थानमा छ।

यो तालिकामा नेपाल भने आठ खेलमा एकमा जितसहित तीन अंक छ। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आइतबार बेलुकी खेल्नेछ।

कात्तिक ९, २०८१ शनिबार ०७:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।