भारतलाई २० रनले हराएर इमर्जिङ टिम्स एसिया कपको फाइनल पुग्यो अफगानिस्तान

भारतलाई २० रनले हराएर इमर्जिङ टिम्स एसिया कपको फाइनल पुग्यो अफगानिस्तान

काठमाडौं : दोस्रो सेमिफाइनलमा भारतलाई २० रनले हराउँदै अफगानिस्तान एसीसी पुरुष टी२० इमर्जिङ टिम्स एसिया कपको फाइनल पुगेको छ।

ओमानको ओमान क्रिकेट ऐकेडेमीमा २०७ रनको लक्ष्य पछ्याएको भारतीय टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रनमा समेटिएसँगै सेमिफाइनलबाट बाहिरिएको हो।

लक्ष्य पछ्याउने क्रममा भारतका रमनदीप सिंहले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले। ३४ बलको सामना गरेका उनले आठ चौका र दुई छक्का हिर्काए।

त्यसबाहेक आयुष बडोनी ३१, निशान्त सिन्धु २३, नेहाल वडेरा २०, प्रभसिमरन सिंह १९, कप्तान तिलक वर्मा १६, अभिषेक शर्मा ७ रनमा आउट हुँदा अन्सुल कमबोजले नटआउट २ रन जोडे।

अफगानिस्तानका गजनाफर र अब्दुल रहमानले समान दुई–दुई विकेट लिँदा सराफुद्दीन असरफले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले चार विकेट गुमाएर २०६ रन खडा गर्यो। उसका लागि सिद्दिकी अटल र जुबैद अक्बरीले क्रमशः ८३ र ६४ रनको अर्धशतकीय पारी खेले।

५२ बलको सामना गरेको सिद्दीकीले सात चौका र चार छक्का हिर्काउँदा ४१ बलको सामना गरेका जुबैदले पाँच चौका चार छक्का प्रहार गरे।

करिम जनत २० बलमा ४१ रन बनाएर आउट हुँदा मोहम्मद इशाक १२ र सराफुद्दीन असरफ १ रनमा नटआउट रहे। डारविस रसुली पहिलो बलमै आउट भए।

भारतका रसिक सलामले तीन विकेट लिँदा आकिव खानले एक विकेट हात पारे।

योसँगै अब फाइनलमा अफगानिस्ताले उपाधिका लागि श्रीलंकासँग भिड्नेछ। पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई सात विकेटले हराएको थियो। 

कात्तिक १०, २०८१ शनिबार ०७:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।