माओवादीको खबरदारी सभा आज, ३० हजार कार्यकर्ता उतार्ने दाबी

माओवादीको खबरदारी सभा आज, ३० हजार कार्यकर्ता उतार्ने दाबी

काठमाडौं : माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा आयोजना गर्दैछ।

केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रष्टाचारीलाई जोगाउने षडयन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भएको हो।

सभालाई रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टी नेताहरूले बताएका छन्। बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी  पूरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए।

विहान ११ बजे काठमाडौं मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू पार्टीले निर्देशन दिएको छ। त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन्।

जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुनेछ। सभालाई प्रचण्डले सम्बोधन गर्ने छन्। अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आँकलन गरिएको छ।

कात्तिक ९, २०८१ शनिबार ०७:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।