केयूमा सिद्धान्त केन्द्रित राष्ट्रिय सङ्गोष्ठी हुँदै, २४ अनुसन्धान पत्र प्रस्तुत हुँदै

केयूमा सिद्धान्त केन्द्रित राष्ट्रिय सङ्गोष्ठी हुँदै, २४ अनुसन्धान पत्र प्रस्तुत हुँदै

काठमाडौँ : काठमाडौँ विश्वविद्यालय परिसरमा ‘समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता’ विषयमा राष्ट्रिय सङ्गोष्ठीको आयोजना हुने भएको छ। सहृदयता समाज नेपालको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पिएचडी) शोधार्थीहरू सहित २४ जनाले अनुसन्धान पत्र प्रस्तुत गर्दैछन्।

सङ्गोष्ठीको उद्घाटन शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गर्नेछन् भने काठमाडौँ विश्वविद्यालयका मनोचिकित्सक प्रा.डा. अजय रिसालले ‘श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता’ शीर्षकमा बीज–वक्तव्य (कीनोट स्पीच) दिनेछन्।

सङ्गोष्ठीमा दुईवटा सत्रहरूमा प्यानल डिस्कसन (विद्वत् विमर्श) हुनेछन्। विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता तथा पेसाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरूबारे विचार विमर्श गर्ने गर्नेछन्।

कार्यक्रमको उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टीएन जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेसनलकी अध्यक्ष, योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीले मन्तव्य दिनेछन्।

सङ्गोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं विश्व संस्कृत दिवस कार्यपरिषदका अध्यक्ष प्रा.डा. माधवप्रसाद पाण्डेय र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ डा. हरिचन्द्र कमलीले मन्तव्य दिनेछन्।

काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा. निर्मलमणि अधिकारीले २०७६ सालमा नौ वटा प्रवचन–शृङ्खलामार्फत ‘स्थितिगत्यात्मक प्रगतिवाद’को व्याख्या गरेका थिए।

कात्तिक ८, २०८१ शुक्रबार २२:५९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।