चीनले ललितपुरलाई दियो ‘युनिक्सोलार शावर स्टेसन’ उपहार

चीनले ललितपुरलाई दियो ‘युनिक्सोलार शावर स्टेसन’ उपहार

काठमाडौँ : चीनको युनान प्रान्तले नेपालको ललितपुर महानगरपालिकालाई सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर उपहार दिएको छ। सार्वजनिक कल्याणकारी परियोजना अन्तर्गत शुक्रवार ‘युनिक्सोलार शावर स्टेसन’ नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर र छत फोटोभोल्टाइक परियोजना हस्तान्तरण भएको हो।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा चीनको युनान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलले महानगरपालिकाको वडा नं ३ लाई परियोजनाहरू हस्तान्तरण गरेको थियो।
युनिक्सोलार शावर स्टेसनमा सौर्य ऊर्जाबाट उत्पादित चार हजार लिटर तातो पानीको सुविधासहित निर्मित महिला र पुरुषका लागि तीन-तीन गरी छवटा स्नान कक्ष रहेका छन्। यो सामुदायिक स्नानघरले दैनिक कम्तीमा ८० देखि एक सय जनालाई स्नान गर्ने सुविधा प्रदान गर्ने दाबी गरिएको छ।

यसका साथै, ‘रुफ फोटोभोल्टाइक’ परियोजनामा ३६ किलोवाट क्षमताको सोलार जडान गरिएको छ जसले वार्षिक लगभग ६० हजार किलोवाट घण्टा बिजुली उत्पादन गर्ने र समुदायलाई लामो समयसम्म हरित तथा निःशुल्क ऊर्जा प्रदान गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकामा चिनियाँ पक्षप्रति आभार व्यक्त गरे। उनले परियोजनालाई उत्कृष्ट अत्याधुनिक सुविधा भनेर वर्णन गर्दै यसले स्थानीय बासिन्दालाई ठुलो फाइदा पुर्याउने विश्वास व्यक्त गरे।

त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विकास मोडेलमा आधारित यो परियोजना नेपाली जनताका लागि ठुलो महत्वको हुने बताए। उनले चिनियाँ पक्ष नेपालका दुर्गम क्षेत्रहरूमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनाहरूमा सङ्लग्न रहेको बताए।

कात्तिक ८, २०८१ शुक्रबार २२:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।