राम थापाको ‘रेलै घुमेर’को भाका र फिल्म पूर्णबहादुरको सारंगीको ‘रैया चाँदीको’भाका कसरी उस्तै सुनियो  ?

राम थापाको ‘रेलै घुमेर’को भाका र फिल्म पूर्णबहादुरको सारंगीको ‘रैया चाँदीको’भाका कसरी उस्तै सुनियो  ?

काठमाडौँ : विजय बराल प्रमुख भूमिकामा रहेको फिल्म 'पूर्णबहादुरको सारङ्गी'को टिम अहिले फिल्म प्रमोसनका लागि प्रदेश-प्रदेश घुमिरहेको छ। फिल्म प्रमोसनका लागि निर्माण टिमले एकपछि अर्को गीतहरू सार्वजनिक गरिरहेको छ।

टिजरहुँदै फिल्म ट्रेलरसम्म आइपुग्दा दर्शकमाझ एक खालको खुल्दुली निर्माण भइरहेको निर्माण टिमले ‘दिने हातैमा’,’काँथेकुरी’ हुँदै ‘रैया चाँदीको’ बोलको गरेर तीन गीत सार्वजनिक गरिसक्यो।

‘काँधेकुरी’ बोलको गीतको ‘इस्टकोट आफ्नै काटी छोरालाई भोटो’ लाइन सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यही शब्दमा टिकटक बनाउने क्रम निकै बढेको छ।

तर ‘रैया चाँदी’ बोलको गीतसम्म आइपुग्दा भने निर्माण टिम विवादमा पर्यो। ‘रैया चाँदी’ गीतको लय तीन दशक अघिको ‘रेलै घुमेर गयो बैनीको आधी उमेर’ सँग मिलेको देखियो। राम थापा र सुनिता सुब्बाको स्वरमा रहेको यो लोकप्रिय गीतको म्युजिक अलि स्लो बिटमा छ भने ‘रैया चाँदी’ बोलको गीतको संगीत फास्ट बिटमा छ। एकै बिटमा राखेर सुन्ने हो भने लय लगभग मिलेको सुनिन्छ। गीतको भाका सङ्कलन देखिँदैन।

उता रैया चाँदीको गीत सङ्गीतकार आशिष् अविरल र मेलिना राईले गाएका छन्। गीतको शब्दलाई नवरात पन्तले लेखेका छन्।

यो गीतसँग पुराना गायक राम थापाको ‘रेलै घुमेर’सँग मिलेको छ नि भन्ने प्रश्नमा उनले फिल्मका निर्माण टिमले ३०–४० वर्ष अघिको कथा र त्यो समयमा बज्ने गीत कस्तो थियो,सोही अनुसार बनाइदिनु भनेकाले केही कलर मिल्न गएको भने स्विकारे।

तर आफूले त्यो भाकाबाट गीत नलिएको उनको तर्क थियो। उनले लोक गीत भन्ने बित्तिकै लोकको कलर आउने तर्क गरे। गीतको नोटेसन,स्टक्चर रेलै घुमेर भन्दा फरक रहेको उनले बताए।

‘सोरठी गीत बनाउँदा सोरठीको कलर आउनु पर्यो। नत्र त्यो गीत सोरठी नै भएन नि। कतै कतै कलर मिल्न त मिल्न सक्छ’ उनको दाबी छ।

लोकगीत हो भने भाका सङ्कलक भनेर लेख्ने प्रचलन छ। तर न रेलै घुमेर गीतमा भाका सङ्कलकबारे केही उल्लेख छ न त रैया चाँदीकोमा नै। दुबैमा रचनाकार र सङ्गीतकार अनि गायक-गायिकाको नाम मात्र उल्लेख छ। रैया चाँदीबारे अहिलेसम्म रेलै घुमेरको कुनै सदस्यले कुनै प्रतिक्रिया भने दिएका छैनन्।

कात्तिक ८, २०८१ शुक्रबार २२:२३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।