जातका कुरा : लालदेव सदा प्रहरी बन्न चाहन्थे, तर वडा कर्मचारीले अपमान गरेपछि राजनीतिमा लागेर वडाध्यक्ष भए
सुनसरीको कोशी गाउँपालिका ७ निवासी लालदेव सदा दलितहरूको बाक्लो बस्तीमा बस्छन्। मधेसी दलितहरू राम, सदा, डोम, धोबीलगायतको उल्लेख्य उपस्थिति रहेको उनको वडावासीको शिक्षाको पहुँचमुनि छन्। गरिबीको रेखामुनि छन्। त्यसैले उनी उनीहरूको सहयोगमा खटिरहन्थे।
गएको स्थानीय तह निर्वाचन हुनुभन्दा छ महिनाअघि ७ नम्बर वडा कार्यालयमा आएका अशिक्षित सेवाग्राहीलाई सघाउँदै थिए लालदेव सदा। एक जनाको नागरिकताको सिफारिस लिनुपर्ने थियो। कागज तयार गरिदिए। अनि कार्यालयमा गएर मेहता थरका कम्प्युटर अपरेटरलाई कागजात बुझाए। तर, ती कम्प्युटर अपरेटरले उनलाई कार्यालयभित्र पस्नै दिएनन्।
ती कम्प्युटर अपरेटरले भने, 'रक्सी खाएर भित्रै आउने तिमरू? हुन त तिमर्को जातै यस्तै हो, कहिल्यै सुध्रिदैनौं तिमीहरू। बाहिरै बस बाहिरै।' लालदेवलाई त्यो बेला मनमा चिसो पस्यो। किनभने उनी कहिल्यै रक्सी खाँदैनन्।
उनलाई त्यसबेला लाग्यो, 'हामी सदा भएकै कारण रक्सी नखाए पनि खाएको बनाइयो।'
त्यसो त त्यसअघि पनि ती कर्मचारीले पटक पटक त्यहाँका दलित समुदायलाई त्यही किसिमको हेला, विभेद गर्दै आएका थिए।
लालदेवकै शब्दमा, 'अरू समुदायका मान्छेहरू जाने बित्तिकै काम हुन्थ्यो। तर, हामी जाँदा बाहिरै बस, बिस्तारै गर्दिन्छु, भोलि आउनु, के गर्न सक्छौ र तिमीहरूले… यस्तै-यस्तै भन्थे ती कर्मचारीले।'
जुन दिन आफूलाई ती कर्मचारी त्यसरी हप्काए, त्यही दिनदेखि लालदेवको सोच बदलियो।
लालदेवलाई लाग्यो, 'यदि म यो ठाउँमा भएको भए, मेरो समुदायलाई यो कर्मचारीले यसरी हप्काउँदैनथ्यो।'
उनमा अब राजनीति गर्नुपर्छ भन्ने सोच आयो। मनमनै ‘वडाध्यक्ष जितेँ भने पहिला ती कर्मचारीलाई सरुवा गर्ने’ कसम खाए।
लालदेव अब कसरी वडाध्यक्ष बन्न सकिन्छ भनेर लागे। त्यसका लागि त कुनै राजनीतिक दलको उम्मेदवार बन्यो भने सजिलो हुने रहेछ भन्ने थाहा पाए। उनी कुनै दलको सदस्य त परै जाओस्, शुभचिन्तकसमेत थिएनन्। उनी अब कांग्रेस, एमालेलगायत धेरै पार्टीसँग टिकट माग्न गए। तर, कसैले दिएनन्। अन्तिममा माओवादी केन्द्रले पत्यायो, टिकट दियो। अनि लालदेवको सिङ्गै प्यानलले चुनाव जित्यो।
उनी जब वडामा वडाध्यक्ष भएर गए पहिला आफ्नो कसम अनुसार तीन महिनामा त्यही कर्मचारीको सरुवा गरे। उनले भने ‘इख नभएको सर्प र बिख नभएको मान्छे काम लाग्दैन भन्छन्। म मा त्यही कर्मचारीले इख बसाएका थिए। दलित भनेर हेप्ने कर्मचारी कार्यालयमा राख्नु थिएन। सरुवा गरेँ’।
OOO
तपाईँ वडा अध्यक्षमा निर्वाचन भएपछि कुनै किसिमको विभेद भोग्नुपर्यो, दलित भएकै कारण?
यो प्रश्नमा उनले समाजमा छुवाछूत हुनु सामान्य हो भन्ने जवाफ दिए। बुझ्दै जाँदा थाहा भयो, जातीय विभेदका भोगाई उनीसँग कैयन रहेछन्। उनको गाउँमा दलित र गैर दलितबिचमा पानी नचल्नु अर्को सामान्य विषय रहेछ।
'अरू नभए पनि अध्यक्ष भएपछि बल्ल ठुलाठालुसँगै बसेर चिया खान पाइएको छ,' यति भन्दै गर्दा उनी मुसुक्क हाँसे।
यो त रह्यो, खुसीको कुरा। यसको अँध्यारो पाटो पनि छ। वडा अध्यक्ष भए पनि उनी अहिलेसम्म सार्वजनिक भोजभतेरमा जान सकेका छैनन्। गए भने परै बसेर खान्छन्। गैर दलितसँग बसेर खानै डराउँछन्। यस्तो किन त?
लालदेवको जवाफ छ, 'मान्छेहरूको अगाडि फ्याट्ट कसैले केही भन्ला कि भन्ने डर हो। किन यहाँ बसेर खाको? पर जाओ, तिमी त फलानो जात हौ…भन्लान् भन्ने डरले सार्वजनिक भोजभतेरमा सकेसम्म हिँड्दिनँ।'
OOO
२८ वर्षअघि लालदेव कोशी गाउँपालिकाको हरिपुरमा जन्मिए। स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा ५ कक्षासम्म पढेका लालदेवले कोशी जनता माविबाट ०६८ सालमा एसएलसी उत्तीर्ण गरे। अनि सुनसरी बहुमुखी क्याम्पसमा प्लस टु गर्दागर्दै उनको औपचारिक अध्ययनमा अल्पविराम लाग्यो।
आफू डेढ वर्षको हुँदा बुबा गुमाएका लालदेवले १८ वर्षको हुँदै आमा गुमाए। एकातर्फ परिवारको जिम्मेवारी उनको काँधमा आइलाग्यो,अर्कोतर्फ आफ्नै जीवन अलमलमा थियो। यसबीचमा उनले विवाह पनि गरे। जिम्मेवारीहरू थप हुँदै गयो।
अनि १६/१७ वर्षे कलिलो उमेरमै उनी भारतको पन्जाब गए, आर्थिक जीविकोपार्जन गर्नु जो थियो। त्यसो त उनी सानैदेखि प्रहरी बन्न चाहन्थे।
उनी भन्छन्, 'प्रहरी बनेर देशको सेवा गर्ने मन थियो। तर जीवनले अर्कै मोड लियो।'
केही समय भारतको पन्जाबमा बसेपछि फेरि उनी गाउँ फर्किए। भारतको पन्जाबमा हुँदा ज्यामी कामसमेत गरेका लालदेव गाउँ फर्किएर किराना पसल खोले। सामान्य जीवनयापन जसोतसो हुन थाल्यो।
परिवारको न्यून आर्थिक स्थिति हुँदा लालदेवले लामो समय ट्याक्टरमा लेबरको काम समेत गरे। त्यस क्रममा गैर दलित समुदायको घरमा जानुपर्थ्यो। अरू सबै गैर दलित मजदुरलाई थालमा खाना दिइन्थ्यो तर, लालदेवलाई केराको पत्तामा दिइन्थ्यो। अपमानित महसुस हुने गरी उनले कहिल्यै केराको पातमा खाना खाएनन्, बरु भोकै बसे।
२०७८ तिर, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बाटो सर्मतसम्भार कार्य चलिरहेको थियो। त्यसमा १५/१५ जनाको एउटा समूह बनाएर नाइके चैँ त्यसमध्ये अलि पढेलेखेको र टाठो बाठोलाई तोकिन्छ। त्यही क्रममा लालदेव पनि एउटा समूहको नाइके थिए।
तर, एक जना वडा सदस्यले लालदेव 'मुसहर' भएकै कारण यादव थरका वडा सदस्यले लालदेवको डायरी र कलम खोसेर अर्कैलाई दिए। अनि भने, 'यो तपाईँको काम (नाइके हुने) हैन, उता गएर बेल्चा चलाउनुस्।'
OOO
उनी वडाध्यक्ष त भए तर अध्यक्ष भएपछि सबैभन्दा धेरै बाधा पालिका अध्यक्षबाट बेहोर्नु परेको लालदेवले बताए। पालिका अध्यक्षले जातीय विभेदसँगै प्रशासनिक असहयोग पनि गरिरहेको लालदेवले सुनाए।
त्यो भनेको कस्तो हो त?
जवाफमा उनले भने, 'मलाई वडाका योजनाहरू माग्न भेट्न खोज्दा समय नै दिएका छैनन्। दलित भएको कारण बजेट, योजनालगायतका विषयमा विभेद गर्नुभएको छ। फरक पार्टी भएको कारण पनि विभेद गरेका छन्।'
कोशी गाउँपालिकामा अहिले कांग्रेसबाट निर्वाचित अयुब अन्सारी अध्यक्ष छन्। गाउँपालिकाले झन्डै एक अर्बको वार्षिक बजेट चलाउँदै गर्दा तीन वटा आर्थिक उनको वडामा प्रत्येक वर्ष १५/१५ लाख मात्र विकास बजेट आएको रहेछ।
गाउँपालिका, प्रदेश तथा सङ्घीय बजेटले आफ्नो वडामा योजनाहरू राख्नै कन्जुस्याइँ गरेर अध्यक्ष अन्सारी आफूलाई असफल बनाउन लागि परेको लालदेव सुनाउँछन्। उनलाई गाउँपालिकाको बैठकमा पनि कहिले बोलाउँछन् रे, कहिले बोलाउँदैनन्।
OOO
उनले आफ्नो गाउँमा धेरै विभेद देखेका छन्। गाउँको चोकमा रहेको भट्टीमा रक्सी सबैले खान्थे। तर, पुलिसले गैर दलितलाई छाडेर दलित समातेर लैजान्थ्यो। मुसहरलाई लगेर थुन्थे, कुट्थे। त्यसले पनि आफूलाई राजनीतिमा लाग्न प्रेरित गरेको उनी बताउँछन्।
'म अध्यक्ष हुनुभन्दा अगाडि मुसहर भएकै कारण मेरो समुदायलाई यहाँका जनप्रतिनिधिले ढोका बाहिर बस्न लगाउँथे, प्रशासनिक काम लिएर मुसहरहरू आउँदा बहाना गर्थे।
उनी अध्यक्ष भएपछि जुनसुकै जात अनि समुदायका हुन् सबैले कार्यालयमा सहजै पहुँच पाएका छन्। उनी यसमा खुसी देखिए। प्रहरीले अहिले ‘यहाँको वडाध्यक्ष मुसहर समुदायको हो’ भनेर अनावश्यक दुख दिँदैनन् रे।
OOO
वडा कार्यालयमा गएर अध्यक्ष, सचिवलगायतका प्रतिनिधिसँग बोल्न डराउने लालदेवका छरछिमेकहरू अहिले धक नमानी वडा कार्यालय आउँछन्। विकास, बजेट, योजनाबारे चासो राख्छन्।
उनी वडा अध्यक्ष भएपछि नै हो- स्थानीय राम समुदायले मन्दिरमा ढोल बजाउन छाडेका। मुसहर समुदायले पनि गैर दलित कहाँ जाँदा थाल मागेर खाना खान थालेका छन्। सानै भए पनि आफ्नो समुदायका सदस्यहरूमा बढ्दै गएको जागरण देखेर लालदेवले खुसी छन्।
एक जना गैर दलित कर्मचारीले गरेको विभेदपछि बद्लिएको लालदेवको लक्ष्यले अहिले जीवनभर राजनीतिमै रहन्छु अनि मुसहरहरूको हक र अधिकार मागिरहन्छु भन्नेमा पुर्यायो।
उनी अब राजनीतिबाट टाढा हुन नसक्ने बताउँछन्। कारण सुनाए ‘मुसहरहरूले राजनीति गरेनन् भने अरूले हामीमाथि राजनीति गर्छन्। आफ्नो समुदायमाथिको अन्याय विरुद्ध उभिन पनि राजनीति गर्नै पर्ने रहेछ।’
जातका कुरा
कात्तिक ९, २०८१ शुक्रबार २०:२०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।