जिल्ला र उच्चको आदेशमा पुर्पक्षमा रहेका सात सुन तस्करीका अभियुक्तलाई सर्वोच्चले धरौटीमा छाड्यो

जिल्ला र उच्चको आदेशमा पुर्पक्षमा रहेका सात सुन तस्करीका अभियुक्तलाई सर्वोच्चले धरौटीमा छाड्यो

काठमाडौँ : चिनिया गिरोहसँग मिलेर नेपालमा सङ्गठित रूपमा सुन तस्करीमा संलग्न रहेको अभियोगमा काठमाडौँ जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राखेको ७ जनालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

ब्रेकशुमा राखेर  ६० किलो सुन तस्करी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका दोलखाका ४४ वर्षीय किशोर बस्नेत, काठमाडौँका ५८ वर्षीय कुमार ढकाल, कैलालीका ५० वर्षीय सन्तोष चन्द, काठमाडौँकै ५० वर्षीय सरोज श्रेष्ठ, खोटाङका ४६ वर्षीय राजेन्द्र कुमार राई, दोलखाका ५४ वर्षीय रामकुमार भुजेल र शिवकुमार सरार्फलाई सर्वोच्चले धरौटीमा छाड्न आदेश दिएको हो। आदेश अनुसार अधिकांश धरौटी बुझाएर शुक्रवारै रिहा भए।

२०८० साउन २ मा बाइकको ब्रेकशुमा लुकाएर हवाईमार्गबाट ल्याएको सुन राजश्व अनुसन्धान विभागले  विमानस्थल बाहिर फेला परेको थियो। निकै विवादित सो सुन तस्करी प्रकरणका अधियुक्तहरुबारे उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्चमा दायर गरेको पुनरावेदनमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

सर्वोच्चको आदेश अनुसार केन्द्रीय कारागार सुन्धारामा रहेका किशोर बस्नेत २ लाख धरौटी बुझाएर रिहा भएका थिए। शिवकुमार सर्राफ ५ लाख धरौटी बुझाएर रिहा भए। सन्तोष चन्द, ५ लाख, कुमार ढकाल ५ लाख, रामकुमार भुजेल २ लाख, सरोज श्रेष्ठ २ लाख र राजेन्द्र कुमार राई २ लाख धरौटी बुझाएर रिहा भए। सुरेन्द्रमान श्रेष्ठले भने धरौटी नबुझाएकाले उनी डिल्लीबजार कारागारमा छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको विवादित अनुसन्धानका आधारमा २५ जनालाई प्रतिवादी बनाएर जिल्ला न्यायधीवक्ताको कार्यालय काठमाडौँले २०८० भदौ ३१ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासहित चार वटा सुन गाल्ने मेसिन समेत फेला परेको थियो। यही प्रकरणमा राजनीतिक संरक्षणको आधारमा अपराधमा संलग्न चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ पक्राउ परे।

सुन तस्करी प्रकरणमा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनार अझैँ फरार छन्। एलेक्स भनिने याओ पुचेङ, लि वेन टिसुङ, लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि कारागारमा थिए।

कात्तिक ८, २०८१ शुक्रबार १८:१७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।