रविको तस्बिर भएको फ्लेक्स लुकाउँदै रास्वपा आन्दोलनमा, अजेण्डा रविको रिहाई तर नारा ‘सहकारी पीडित’लाई न्याय

रविको तस्बिर भएको फ्लेक्स लुकाउँदै रास्वपा आन्दोलनमा, अजेण्डा रविको रिहाई तर नारा ‘सहकारी पीडित’लाई न्याय

काठमाडौँ : सहकारी ठगी र सङ्गठित अपराधमा पक्राउ परेका पार्टीका सभापतिलाई कारबाहीको दायराबाट बाहिर ल्याउन आन्दोलित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता अहिले न पार्टी सभापतिको तस्बिर प्रयोग गर्न सक्ने अवस्थामा छन् न रविको नामै लिन सक्छन्।

आन्दोलन रविको पक्राउको विरोधमा सुरु भएको प्रस्ट छ। पक्राउलाई उनीहरूले राजनीतिक प्रतिशोधको ट्याग समेत लगाएका छन्। प्रारम्भिक आन्दोलनमा उनीहरूले रविको तस्विरसहितको ब्यानर प्रयोग गरेका थिए।

तर न्यायिक निरुपणमा प्रवेश गरेको विषयमा सडकबाट दबाब दिने प्रयास गरेको अनि ‘सहकारी ठग’ लाई जोगाउन आन्दोलन गरिरहेको भन्दै तीव्र आलोचना भएपछि रास्वपा बिस्तारै रक्षात्मक बन्दै आन्दोलनलाई सरकारी पीडितको पक्षको बनाउने प्रयत्नमा लाग्यो।

रविमाथिको आरोप विभिन्न सहकारीको ६५ करोड बढी रकम गोर्खा मिडिया प्रालिमा अवैध रूपमा लगेको लगेको नै हो। बचतकर्ताहरूको बचत रकम अवैध रूपमा जाँदा उनीहरूले चाहेको समयमा आफ्नो बचत फिर्ता पाउन सकेनन्। अनि प्रहरी कार्यालयमा जाहेरी दिए।

प्रहरीले अदालतबाट अनुमति लिएर सहकारीमा रहेको बचतकर्ताहरूको रकम अवैध रूपमा अपचलनमा उनको संलग्नताबारे अनुसन्धान गर्न अदालतको अनुमति लिएर पक्राउ गर्दा त्यसलाई उनीहरूले एकातिर राजनीतिक प्रतिशोध भनिरहेका छन्। रविलाई रिहा गराउन आन्दोलन गरिरहेका छन् तर आन्दोलनमा नारा भने ‘सहकारी पीडितलाई न्याय दे’ लगाउने गरेका छन्।

शुक्रवार काठमाडौँको माइतीघरबाट नयाँबानेश्वरसम्मको र्यालीसम्म उनीहरूले यस्तै विरोधभाषपूर्ण नाराबाजी गरे। सरकार विरुद्धको नाराबाजी त सुहाएको थियो। तर सहकारी पीडितलाई न्याय दे अनि सहकारीका वचतकर्तहरुको बचत फिर्ता गर भन्दै लगाएको नारा भने अजिब सुनियो रास्वपाको आन्दोलनमा।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी  अनि नेपालगन्जको सहारा सहकारीमा रहेको बचतकर्ताहरूको रकम अवैध रूपमा रवि प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा जाँदा नै बचतकर्ताहरूले आफ्नै बचत रकम फिर्ता नपाएको प्रस्टै छ।

अहिले भइरहेको अनुसन्धान बचतकर्ताको कति रकम कसले, कसरी अपचलन गर्यो भनेर पत्ता लगाएर कानुन अनुसार असुलउपर गरेर बचतकर्तालाई फिर्ता गर्ने नै देखिन्छ। त्यसैका लागि अदालतबाट अनुमति लिएर कात्तिक २ मा रवि काठमाडौँमा रहेको पार्टी कार्यालयमा पक्राउ परे र कास्की लगियो।

न्यायिक हिरासतमा राख्ने म्याद माग्न प्रहरी अदालतमा जाँदा म्याद थप्न नदिन रास्वपाका नेताहरू पोखरा केन्द्रित भएर आन्दोलन गरे। उनीहरूले रविको तस्विरसहितको प्लेक्स प्रिन्ट गरेर प्रदर्शन गरे। काठमाडौँको आन्दोलनमा रविको नाम र तस्विर दुबै हराए।

बिहीबार दोस्रो पटक म्याद थपका लागि अदालत लैजाँदा पनि उनीहरू पोखरामा आन्दोलित भए। रविसँगै सहकारीको बचत ठगीको अभियोगमा पक्राउ परेका छविलाल जोशीसहित तीन जनाको हिरासतको सात दिन म्याद थपिएपछि पोखरामा रहेका नेताहरू काठमाडौँ आएर शुक्रवार दिउस एक बजे माइतीघरमा आन्दोलन गरे। तर रविको नाम र  तस्बिर भएको फ्लेक्स लुकाउँदै।

कात्तिक ८, २०८१ शुक्रबार १५:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।