आँगनमै बनाएको साँढेको मूर्तिलाई बाच्छो भनेर ट्रोल भएपछि नेप्सेका प्रवक्ता भन्छन्- ‘मौलिकता अनुसारको बुल बनाएका हौँ’

आँगनमै बनाएको साँढेको मूर्तिलाई बाच्छो भनेर ट्रोल भएपछि नेप्सेका प्रवक्ता भन्छन्- ‘मौलिकता अनुसारको बुल बनाएका हौँ’

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को आगनमा साँढेको प्रतिमा बनाइएको छ।

सामान्यतया, नेप्से परिसूचक बढ्दा साँढेको संकेत देखाइन्छ भने घट्दा भालुको संकेतले बजार घटेको जनाउँछ।

सोही अनुसार नेप्सेको स्थापना भएको ३० वर्षको अवधिमा नेप्सेको आँगनमा साँढेको प्रतिमा बनाइएको थियो। तर, सामाजिक सञ्जालमा साँढेको प्रतिमा नभई ‘बाच्छो’ बनाएको भन्दै ट्रोल भइरहेको छ।

विश्वका कैयन् देशमा चार्जिङ्ग बुल राख्ने अभ्यास छ। नेप्सेका अनुसार उक्त बुल बनाउन १४ महिना लागेको थियो भने, बुल ढलोट र पित्तलले तयार पारिएको थियो।

नेप्सेको आगनमा बुलसँगै, बगैँचा, गेट, पर्खाल बनाउन १ करोड ४८ लाख रुपैयाँमा ठेक्का लगाएको नेप्से प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। उनका अनुसार जसका लागि जाल्पा निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो।

सामाजिक सञ्जालमा १ करोड ४८ लाखकै बुल बनाएको र उक्त बुल बनाउँदा भ्रष्टाचार भएको भन्दै आलोचना भएपछि प्रवक्ता पराजुलीले यसबारे प्रष्टिकरण दिएका छन्।

‘नेप्सेको बुलबारे विवाद गर्नुपर्ने देखिँदैन। हरेक राष्ट्रको बुल हेर्दा आफ्नै देशको मौलिकता झल्कने खालको हुन्छ। हामीले पनि आफ्नै मौलिकता झल्कने बनाएको हो,’ उकेरासँग उनले भने, ‘एक करोड ४८ लाखकै बुल बनाएका हैनौं त्यसमा जेनेरेटर राख्ने ठाउँ, बिजुली जोड्नेदेखि बगैँचा, गेट लगायतको काम पनि त्यस अन्तर्गत नै पर्छ।’

कात्तिक ८, २०८१ शुक्रबार १३:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।