कुनै दलको पनि आन्दोलनमा नजान सहकारीका बचतकर्ताहरूलाई महासङ्घको आग्रह

कुनै दलको पनि आन्दोलनमा नजान सहकारीका बचतकर्ताहरूलाई महासङ्घको आग्रह
महासंघले आयोजना गरेको आन्दोलन। अर्काइभ तस्बिर।

काठमाडौँ : सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले सहकारीका बचतकर्ताहरूलाई कुनै पनि राजनीतिक दलको आन्दोलनमा सहभागी नहुन आग्रह गरेको छ।

शुक्रवार विज्ञप्ति निकालेर महासङ्घले १८ महिनादेखि सहकारीमा बचत फसेका बचतकर्ताको बचत फिर्ता गराउन अभियान चलाइरहेको भन्दै दलको आन्दोलनमा सहभागी भए अभियानलाई नकारात्मक असर पर्ने भन्दै दलको कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ।

‘कुनै पार्टी कुनै दलको यो आन्दोलन होइन, विशुद्ध बचतकर्ताको बचत रकम फिर्ताका लागि गरिएको आन्दोलन हो। यसमा धेरै राजनीतिक दलहरूले राजनीति गर्न खोजिरहेको अवस्था छ। राजनीति भयो भने राजनीतिज्ञहरूको राजनीति त होला।

तर पीडितले न्याय पाउन राजनीतिको लडाइँमा पीडितको न्याय मर्नेछ। त्यसैले सम्पूर्ण बचतकर्ता नेतृत्ववर्ग साथीहरूलाई पार्टीले गरेको आन्दोलनमा साथ दिन जानुभयो भने व्युत्पादक हुने छ’ विज्ञप्तिमा भनिएको छ।

गोर्खा मिडिया प्रालीको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको अभियोगमा रवि लामिछाने पक्राउ परेपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गरिरहेको छ। रवि रास्वपाको सभापति हुन्।

महासङ्घले आफ्नो राजनीति स्वार्थ पुरा गर्न सदस्यहरूको बलि चढाउने काम बन्द गर्न आग्रह गर्दै यदि त्यसो नभए प्रतिकारमा उत्रिने चेतावनी समेत दिएको छ।

बचतकर्ताको अनुहार पार्टीगत आन्दोलनमा पीडितलाई मोहरा बनाएर पीडित पनि मोहरा बनेमा संस्थाले कारबाही गर्ने र कुनै नेता अहिले घरमा आएर ‘तपाईँको लागि हामी लड्छौ भनेर ब्ल्याकमेल गर्यो’ भने उसले आफ्नो राजनीति गर्न आएको बुझ्न भन्दै उनीहरूलाई पैसा फिर्ता गराउने आधार के हो भनेर सोध्न समेत भनेको छ।

सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता नहुने र सरकारले यस विषयमा गम्भिरतापुर्वक लाग्नु पर्ने उल्लेख गर्दै विज्ञप्तिमा निर्णायक आन्दोलन मङ्सिर ५ बाट हुने उल्लेख छ।

सरकारसँग भएको सम्झौतामा ब सरकारले हरेक क्रियाकलापमा पीडितको सुझाव सहित पीडितको प्रतिनिधि रहने गरी काम गर्ने भन्ने रहे पनि २०८१ कात्तिक ७ गते क्याबिनेटमा डेपुटी गभर्नर सहित बसेको छलफलमा महासङ्घको प्रतिनिधि नराखी सम्झौता विपरीत काम गरेको उल्लेख छ।

दशैंमा पीडितलाई कुनै पनि बचत फिर्ता नगराएको  र सम्झौता भएको दुई महिनासम्म कुनै छलफल नभएको, सम्झौता अन्तर्गत पठाएको प्रतिनिधिसँग कुनै काम नगरेको, बस्ने ठाउँ समेत नदिएको र महासङ्घले पटक पटक फोन सम्पर्क गर्दा समस्याको सम्बोधन गर्न नदेखाउने र फोन समेत नउठाउने अनुत्तरदायी भएको महासङ्घको दाबी छ।

महासङ्घले आफ्नो नेता कार्यकर्ताको बचाउ गर्न छोडी बचतकर्ताको बचत फिर्ताका लागी संस्थाले राखेको माग सम्बोधन गर्न दलहरूलाई आग्रह गरेको छ। पिडकको आरोप लागेका राजनीतिक आवरणको फाइदा उठाएर फरार रहेका र राजनीतिक मञ्चमा खुलेआम भाषण गर्दै हिँड्ने कानुन भन्दामाथि रहेको मानसिकता बोक्दै हिँडेका सबैलाई तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याउन समेत माग गरेको छ।

कात्तिक ८, २०८१ शुक्रबार १३:२९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।