जस्टिन ट्रुडोको राजिनामाको माग, तीन दिने अल्टिमेटम

जस्टिन ट्रुडोको राजिनामाको माग, तीन दिने अल्टिमेटम

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो आफ्नै पार्टीभित्रै विरोधको सामना गरिरहेका छन्।

लिबरल पार्टीका सांसदहरूले ट्रुडोलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन अक्टोबर २८ सम्मको समय दिएका छन्। आक्रोशित नेताहरूले ट्रुडोलाई या त पद छोड्न वा विद्रोहको सामना गर्न तयार हुन भनेका छन्।

मिडिया रिपोर्टका अनुसार ट्रुडोको पार्टीका २४ सांसदले चुनावअघि प्रधानमन्त्रीलाई हटाउन माग गरेका छन्। यसका लागि उनले माग पत्रमा हस्ताक्षर समेत गरेका छन्।

सांसदहरुले हस्ताक्षर गरेको यो माग पत्र अहिलेसम्म सार्वजनिक भएको छैन। उक्त पत्रमा सांसदहरूले ट्रुडोलाई आगामी वर्ष हुने आम निर्वाचनमा पराजयको खतरालाई मध्यनजर गर्दै चुनावअघि राजीनामा दिन माग गरेका छन्।

सांसदहरूले ट्रुडोलाई चौथो पटक प्रधानमन्त्री पदमा उम्मेदवार नबनाउन आग्रह गरेका छन्। विगत १०० वर्षमा कुनै पनि क्यानडाली नेताले चौथो पटक चुनाव जितेका छैनन्।

हाल, क्यानडाको संसद हाउस अफ कमन्समा लिबरल पार्टीका १ सय ५३ सांसद छन्। क्यानाडाको हाउस अफ कमन्समा ३३८ सिट छन्। यसमा बहुमतको आंकडाका लागि १७९ सिट आवश्यक पर्छ।

यस महिनाको शुरूमा, ट्रुडो सरकारको सहयोगी न्यू डेमोक्र्याटिक पार्टी (एनडीपी) ले आफ्नो समर्थन फिर्ता लिएको थियो। एनडीपी खालिस्तान समर्थक क्यानाडाली सिख सांसद जगमीत सिंहको पार्टी हो।

गठबन्धन टुटेको कारण ट्रुडो सरकार अल्पमतमा परेको हो। तर, अक्टोबर १ मा भएको बहुमत परीक्षणमा ट्रुडोको लिबरल पार्टीले अर्को पार्टीको समर्थन पाएको थियो। जसकारण ट्रुडोले फ्लोर टेस्ट पास गरे।

ट्रुडोसामु यो चुनौती यस्तो समयमा आएको हो जब उनको सरकार खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यालाई लिएर भारतसँग ठूलो कूटनीतिक तनावमा फसेको छ।

क्यानडाको जनसंख्याको भारतीयको संख्या बढ्दै गएको बेलामा उनले भारतविरुद्धको अभिव्यक्तिले उनको पद धरापमा परेको अनुमान लगाइएको छ।

कात्तिक ८, २०८१ शुक्रबार १०:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।