टाँगेले पाँच दशकअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा भएन, १२ प्रतिशत काम बाँकी

टाँगेले पाँच दशकअघि बनाएको लुम्बिनी गुरुयोजना अझै पूरा भएन, १२ प्रतिशत काम बाँकी

बुटवल : गौतमबुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना अनुसार अझै १२ प्रतिशत काम हुन बाँकी छ। गुरुयोजना बनेको पाँच दशकसम्म भइसक्दा समेत अझै १२ प्रतिशत काम सम्पन्न हुन बाँकी रहेको हो।

लुम्बिनी क्षेत्रको संरक्षण र योजनाबद्ध विकास गर्न भन्दै सन् १९७८ मा लुम्बिनी गुरुयोजना शुरू गरिएको थियो। जापानिक वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले बृहतर लुम्बिनीको विकास गर्न भन्दै गुरुयोजनाको खाका तयार गरी सरकारलाई थमाएका थिए।

तर, १४ वर्षमा सक्ने लक्ष्य लिएको गुरुयोजनाको काम पाँच दशक हुन लागिसक्दा समेत सम्पन्न हुन सकेको छैन।

सरकार र लुम्बिनी विकास कोषको प्रतिबद्धता र जिम्मेवारी बोधको अभावले गुरुयोजना भने अझै सम्पन्न हुन नसकेको हो। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसार काम सम्पन्न गर्न सात अर्ब लाग्ने भए पनि अहिले पर्याप्त बजेट नै नभएको बताए।

‘१२ प्रतिशत काम अझै बाँकी छ। यसका लागि ७ अर्ब चाहिन्छ। तर बजेट छैन। यतिसम्मकी अघिल्लो आर्थिक वर्षमा भएको कामको भुक्तानी पनि हुन सकिरहेको छैन’, उनले भने।

सरकारै पिच्छे पदाधिकारी फेरबदल हुने, विभागीय मन्त्रीहरूले गुरुयोजना पूरा गर्न खासै चासो नदिने, राजनीतिक खिचातानी र कर्मचारीमा जिम्मेवारीबोध नहुँदा काम समयमै सम्पन्न गर्न सकस भइरहेको उनले बताए।

गुरुयोजनामा अहिलेसम्म करिब १२ अर्ब भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। पछिल्लोपटक करिब चार अर्बका चार वटा बहु वर्षीय ठेक्काको काम भइरहेको छन्। जसमा मुख्य र भित्री सडक, ढल निर्माण, हरियाली, विद्युतीकरण, गेट निर्माण, सौन्दर्यीकरणबारे काम भइरहेका छन्।

अझै, गुरुयोजना क्षेत्र भित्रबाट बग्ने तीनवटा नदीको व्यवस्थापन, उथान्ता अडिटोरियन हल, पाँच वटा प्रशासनिक भवन, स्वास्थ्य चौकी लगायतका थुप्रै काम बाँकी छन्। पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ३-४ प्रतिशत मात्र थप सम्पन्न गरिएको उनको भनाइ छ।

सरकारले लुम्बिनीका लागि चालु आर्थिक वर्षमा जम्मा ४४ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ। यो हिसाबले काम हुँदा गुरुयोजना सम्पन्न गर्न अझै कति वर्ष लाग्छ भन्ने एकीन नभएको पदाधिकारी बताउँछन्। स्थानीय लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले स्थानीय सरकारसँगको साथ लिएर अघि बढे गुरुयोजना सम्पनका लागि सहज हुने बताइन्।

गुरुयोजना अनुसार काम समयमै सम्पन्न नहुनु पर्याप्त बजेट मात्र प्रमुख कारण भने होइन। सरकार र लुम्बिनी विकास कोषको ध्यान गुरुयोजना पूरा गर्नभन्दा लाभ र गुरुयोजना विपरीतका काम गर्न उद्दत हुनुले पनि लामो समयसम्म लुम्बिनीको एकीकृत विकासको काम अधुरै रहेको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले ७/८ अर्बको बजेटमा ३ देखि ४ वर्षमा गुरुयोजना अन्तर्गतका सबै काम सक्ने गरि योजना बनाइएको जानकारी दिए। फोहर व्यवस्थापन र नदी डाइभर्सनको ठेक्काको प्रक्रियामा गइसकेको जनाउँदै उनले पाँच वटा भवन र पूर्ववत बनेका तर गुरुयोजनाको मापदण्ड नपुगेका केही योजनाका कामहरू गर्न बाँकी रहेको जानकारी पनि दिए।

उनले गुरुयोजना बनेको ४६ वर्ष सम्म पनि निर्माण सम्पन्न हुन नसक्नु संसारभरका बौद्धमार्गीहरूका लागि लज्जाको विषय भएको बताए।

गुरुयोजना तयार हुँदा ५५ मिलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिए पनि त्यसको लागतलाई गुरुयोजना बनेको ४६ वर्षमा पुग्दा सम्म पनि पुनः मूल्याङ्कन गरिएको छैन। समयानुसार पुनः मुल्यांकन गर्न बाँकी रहेको विकास कोषकी योजना प्रमुख स्मिता भट्टले बताइन्।

सरकारले सुनिश्चित गरेर विनियोजन गरेको बजेटका आधारमा ८५ प्रतिशत काम सम्पन्न भएको भनिए पनि समग्र गुरुयोजनाको ४० देखि ५० प्रतिशत मात्र काम सम्पन्न भएको उनले बताइन्।

‘तिलौराकोट, रामग्राम सहितका गुरुयोजनाको कामलाई जोड्दा ४० देखि ५० प्रतिशत मात्र योजना सम्पन्न भएको देखिन्छ’, उनले भनिन्।

गुरुयोजना अनुसार के काम भए, के बाँकी छन् ?
लुम्बिनी गुरुयोजनामा उत्तर दक्षिण तीन वर्ग माइल र पूर्व-पश्चिममा १ वर्ग माइल ९७ सय ७७ हेक्टर ० क्षेत्रमा फैलिएको छ।

जसमा उत्तरबाट मध्यभागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुरातात्त्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया ३ क्षेत्रमा विभाजन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।

वास्तुकलाविद् टाँगेले बनाएको गुरुयोजना अनुसार एक हजार एक सय ५५ बिघा क्षेत्रफलमा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रूपमा लुम्बिनीको विकास गरिने योजना छ।

नेपाल सरकार, विभिन्न दातृ निकाय र संघसंस्थाहरूले लुम्बिनीमा अर्बौं लगानी गरेका छन्। तर, हरेक वर्ष गुरुयोजना पूरा गर्ने बताउँदै आएको सरकारले यसलाई मूर्त रूप भने दिन सकेको छैन।

जसले गर्दा विश्वमा नेपाललाई चिनाउने गौतम बुद्धको जन्मस्थलमा विकासका नाममा सञ्चालित गुरुयोजनाको यो हविगतले अन्तर्राष्ट्रिय क्षेत्रमै ढिलासुस्तीको चरम नमुना प्रस्तुत गरिरहेको छ।

कात्तिक ८, २०८१ शुक्रबार १०:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।