पूर्वमा‌ओवादीहरू एक ठाउँ हुनुपर्ने तर्कपछि बाबुरामले भने- ‘किन? अर्को जनयुद्ध गर्न कि प्रचण्डलाई सत्तारोहण गराउन?’

पूर्वमा‌ओवादीहरू एक ठाउँ हुनुपर्ने तर्कपछि बाबुरामले भने- ‘किन? अर्को जनयुद्ध गर्न कि प्रचण्डलाई सत्तारोहण गराउन?’

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका केही नेताहरूको भनाइप्रति कडा शब्दमा विमती राखेका छन्।

शुक्रबार विहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले पूर्वमाओवादीहरू एक हुनुपर्ने माओवादी केन्द्रका नेताहको भनाइ र ‘सुशासन’को मुद्दा उठाएर प्रचण्डले दिएको आन्दोलनको धम्कीको कडा शब्दमा खण्डन गरेका हुन्।

यसका अलावा उनले पूर्वमाओवादीहरू एक ठाउँ हुनुपर्ने कारण समेत आफैँले दिएका छन्। उनले भनेका छन्, ‘सबै पूर्व माओवादीहरू किन एक ठाउँमा जम्मा हुने? अर्को जनयुद्ध गर्न? या भोजभतेर गर्न? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो?’

माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको भन्दै उनले विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा पुग्दा आफूहरू अझै पहिलो चरणमा पुगेको उनले स्मरण गराएका छन्।

यस्तो अवस्थामा जनयुद्धकालीन अवस्थानिम्ति उपयुक्त माओवादी विचार-राजनीति र  स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा नसकिने उनको निष्कर्ष छ।

राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधार बीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपरेको भन्दै त्यसका लागि समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडलमा जानुपर्ने उनको तर्क छ।

उनले अगाडि भनेका छन्, ‘हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक-राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं? तर अहिले समय र परिस्थिति अनुकुल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आऊँ’ भन्नुको के अर्थ रहन्छ?’

अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ र ‘सुशाशनको निम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको कमन सेन्सको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक भएको तर्क गर्दै उनले जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग-उत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रक्रिया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणीबीचको अन्तर कसले बुझेको छैन र भन्दै प्रश्न समेत गरे।

विश्वचर्चित पुस्तक कुक्कूल्यान्ड पढ्ने जोकोहीले प्रचण्डको असली रूपबाट बेखबर रहन नसक्ने भन्दै उनले लेखेका छन्, ‘यदि त्यो सबै ‘क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला? ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला?’

कात्तिक ८, २०८१ शुक्रबार ०९:५६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।