एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, १ करोड ९० लाख बढी योगदान गर्दै

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, १ करोड ९० लाख बढी योगदान गर्दै

काठमाडौं : स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ।

एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन आह्वान गरेको हो।

गतवर्ष १८औं वार्षिकोत्सवको अवसरमा शुरू गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेश स्तरमा सञ्चालनमा रहेको अवस्थामा यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदान सञ्चालन गर्न लागेको हो।

यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिने एनसेलले जनाएको छ।

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई रु १० लाख अनुदान प्रदान गरिनेछ।

एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो।

यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्ने एनसेलको विश्वास छ।

‘एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं। हामी समुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्।

आवेदन एनसेलको वेबसाइटबाट दिन सकिनेछ।

कात्तिक ८, २०८१ शुक्रबार ०८:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।