लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आग्रह

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन्। 

आज एक सन्देश जारी गर्दै उनले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आग्रह गरे। 

'डेंगी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई कम्तीमा हप्ताको एकपटक शुक्रबार १० बजेर १० मिनेट देशव्यापी अभियानका रूपमा सञ्चालन गर्न म सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरुका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि हार्दिक अपिल गर्दछु, उनले भने। 

नेपालका केही जिल्लामा हालसम्म पनि डेंगी रोगको प्रकोप कायमै रहेको र यसले जनस्वास्थ्यका क्षेत्रमा गम्भीर चुनौती सिर्जना गरेको उनको भनाइ छ। 

'नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ। स्वस्थ नेपाल भएमा निरोगी नेपालको अभियान पनि सफल हुनेछ, प्रधानमन्त्री ओलीले भने।  

कात्तिक ८, २०८१ बिहीबार २१:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।