साफ माहिला च्याम्पियनसिप : श्रीलंकामाथि शानदार जीत निकालेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

साफ माहिला च्याम्पियनसिप : श्रीलंकामाथि शानदार जीत निकालेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं : नेपाल साफ माहिला च्याम्पियनसिप-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६-० गोलअन्तरले सानदार रूपमा पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो। 

नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको  थियो। पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक/एक गोल गरिन्। 

सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २-० को अग्रता दिलाइन्। 

यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३-० को अवस्थामा पुर्याइन्। त्यसपछि रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४-० को अग्रता दिलाइन्। 

दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो। 

दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक/एक गोल गरे। अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे। 

आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ।    

कात्तिक ७, २०८१ बिहीबार २०:००:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।