विशेषज्ञ स्वास्थ्य जनशक्ति तत्काल बढाउन सम्भव छैन : स्वास्थ्यमन्त्री पौडेल

विशेषज्ञ स्वास्थ्य जनशक्ति तत्काल बढाउन सम्भव छैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा क्षेत्रमा तत्काल विशेषज्ञ जनशक्ति थप गर्ने अवस्था नरहेको बताए।  उपलब्ध जनशक्तिलाई नै आवश्यक तालिम दिएर स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउने आफ्नो रणनीति रहेको उनको भनाई थियो।

बिहीबार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा समेत भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता अभिवृद्धि गराएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको बताए।

‘स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने विकल्प हामीसँग छैन। तत्काल औपचारिक योग्यता पुर्याएर जनशक्ति उत्पादन गर्ने स्थिति पनि छैन। उपलब्ध चिकित्सकीय जनशक्ति उत्पादनका लागि थप तालिमहरू दिएर विभिन्न सेवा उपलब्ध गराएर क्षमता वृद्धि गर्न जरुरी छ’ उनले भने।

प्रत्यारोपणको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि भएका चिकित्सक, नर्स र डाक्टरहरूलाई क्षमता बढाएर स्वास्थ्य सेवा क्षेत्र विस्तार गर्न आवश्यक रहेको उनको धारणा थियो।

उनले मेडिकल काउन्सिलले मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई फेलोसिप सञ्चालन गर्ने स्वीकृति दिएकोमा धन्यवाद दिँदै मानव अङ्ग प्रत्यारोपण क्षेत्रको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइँ नगर्न आग्रह समेत गरे।

सम्बन्धित क्षेत्रका विशेषज्ञता हासिल नगरेकाहरूबाट मानव अङ्ग प्रत्यारोपण क्षेत्रमा काम गर्ने स्थिति नरहने भएकाले चिकित्सक र प्रत्यारोपण केन्द्रले फेलोसिपको भरपुर उपयोग गर्नुपर्ने उनले बताए।

मानव अङ्ग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा नयाँ जनशक्ति उत्पादनका लागि सातवटै प्रदेशमा फेलोसिपको व्यवस्था गर्ने सरकारको योजना रहेको उनले बताए।

‘मानव अङ्ग प्रत्यारोपण केन्द्रले फेलोसिपको उपयोग गरेर संवेदनशील उपचार क्षेत्रमा हेलचेक्र्याइँ गर्नु हुँदैन। विशेषज्ञता हासिल नगरेकाहरूले यस क्षेत्रमा काम गर्ने स्थिति हुँदैन। यस्ता फेलोसिपको माध्यबाट यस क्षेत्रमा थप जनशक्ति उत्पादन हुने, उपलब्ध जनशक्तिले थप दक्षता हासिल गर्ने र मानव अङ्ग प्रत्यारोपण केन्द्रकै नेतृत्वमा यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने हाम्रो योजना छ’ उनले भने।

कात्तिक ७, २०८१ बिहीबार १६:१३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।