रवि थप एक साता प्रहरी हिरासतमा, दोस्रो पटक थपियो न्यायिक हिरासतको म्याद

रवि थप एक साता प्रहरी हिरासतमा, दोस्रो पटक थपियो न्यायिक हिरासतको म्याद

काठमाडौँ : सहकारी ठगी र संगठित अपराधमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बुधवार म्याद सकिएपछि प्रहरीले उनलाई हिरासतमा राख्न म्याद माग्दै दोस्रो पटक जिल्ला अदालत कास्कीमा पेस गरेको थियो।

बिहीबार जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाधीश चन्द्रकान्त पौडेलको  इजलासले रविसहित छविलाल जोशी र लीला पछाइलाई समेत समान थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो। ।

गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट अवैध रूपमा पैसा ल्याएर ठगी गरेको आरोपमा रवि गत शुक्रवार कात्तिक २ मा काठमाडौँमा पक्राउ परेका थिए। उनलाई काठमाडौँमा पक्राउ गरेर कास्की लगिएको थियो। आइतबार अदालतमा पेस गरिएको रविलाई अदालतले पहिलो पटक ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

छविमाथि पनि समान अभियोग छ। उनलाई गोर्खा मिडियाको सञ्चालकको हैसियतमा सहकारी ठगी र संगठित अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। छवि असोज ६ गतेदेखि प्रहरी हिरासतमा छन्।

फरार रहेका गोर्खा मिडियाका अध्यक्ष जीवीको खाताबाट तीन करोड रकम पछाइको खातामा गएको आधारमा उनी पक्राउ परेकी हुन्। उनी २३ दिन अगाडि पक्राउ परेकी थिइन्। बिहीवार प्रहरीले तिनै जनाको एकै पटक अभियोग लैजानेगरि म्याद थपको क्रम एकै बनाएको छ।

सुर्यदर्शन सहकारीको रकम ठगीको आरोपमा उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि कारागारमा छन्।

कात्तिक ७, २०८१ बिहीबार १५:१३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।