पालिका भवनै डुबेपछि छतमा फाइल सुकाउँदै कर्मचारी, भन्छन्- ‘हामी फेरि उठ्नेछौँ’

पालिका भवनै डुबेपछि छतमा फाइल सुकाउँदै कर्मचारी,  भन्छन्- ‘हामी फेरि उठ्नेछौँ’

कात्तिक पहिलो साता बेथानचोक गाउँपालिकाको कार्यालय पुग्दा राम्रै चहलपहल देखिन्थ्यो। तर त्यो चहलपहल प्रशासनिक कार्यको लागि नभई पालिका भवनमा बाढी परेपछि भिजेका कागजात र उपकरणहरू संकलन गर्ने, त्यसलाई पुच्छ्न र सुकाउनमै व्यस्त भेटिए कर्मचारी।

उनीहरू आफ्नो कार्यकक्षभित्र भएको माटोको लेदो र ढुंगा हटाउँदै थिए। केही कर्मचारी भने कौसीमा सुकाएको कागजातहरू हावाले उडाएर लान्छ कि भनेर कुरेर बसेका थिए।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट अत्यधिक क्षति भएको बेथानचोकमा सडक, बिजुली र दुरसञ्चार सेवा ध्वस्त हुँदा सम्पर्कका लागि समेत गाह्रो भएको थियो। स्थानीय सरकारको सक्रियतामा ट्र्याक खोलेसँगै गाउँमा राहत वितरण र तथ्यांक संकलन गर्ने संस्था पुगेका छन्। तर पालिका भवन अझै डुबानमै छ।

‘हामीले त अब शून्यदेखि स्टार्ट गर्नुपर्यो। सबैभन्दा पहिला त सडक ट्र्याक खोलेर दशैंअगाडि जसरि पनि सार्वजनिक यातायात गाउँसम्म पुर्यायौँ। १९ देखि २० वटा मेसिन प्रयोग गरेपछि हामीले छ वटै वडाको केन्द्रसम्म चैँ पब्लिक बस जानसक्ने बनाउन सफल भयौँ’, पालिकाका सूचना अधिकारी ज्ञानप्रसाद तिमल्सिनाले उकेरालाई भने।

वडाको केन्द्रमा सार्वजनिक यातायात पुगे पनि बाटो भने निकै जोखिमयुक्त देखिन्छ। विभिन्न संस्था र स्थानीयसँगको समन्वयमा अहिले पालिकामा भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ। गाउँमा गाडी पुगे पनि सञ्चार ठप्प हुँदा अझै पनि तथ्यांक संकलनका लागि निकै कठिन भइरहेको सूचना अधिकारी तिमल्सिनाको भनाइ छ।

‘वडाबाट जति तथ्यांक संकलन भयो हामीसँग भएको पनि त्यत्तिनै हो’, उनले भने।

‘बाढीले पछाडी पुर्यायो !’
वडामा बत्ती नहुँदा अहिले सबै काम हातैले गरिराखिएको छ। सूचना अधिकारी तिमल्सिना बाढीका कारण आफूहरू ४० वर्षअघि पुगेको दु:खेसो पोख्छन्।

‘काभ्रे जिल्लाकै सुगम पालिका मध्ये एक हुने हाम्रो अठोट बाढीले बगाइदियो। हामी त ४०/५० वर्षअघिको बेथानचोक जस्तो पो हुनपर्यो अहिले त,’ उनी भन्छन्, ‘पालिकाको केन्द्रमै बाटो पुगाउन हामीलाई ठ्याक्कै ११ दिन लाग्यो। कसैले टाइप गरेरै कागजात माग्नु भयो भने हामीले बनेपाबाट गर्ने गरेका छौँ।’

पालिका भवनको दोश्रो तल्लासम्म बाढी पसेको कारण यहाँका कम्प्युटर लगायतका विद्युतीय उपकरण समेत सञ्चालन गर्नसक्ने अवस्था छैन। ती सै उपकरण संकलन गरेर अहिले घाममा सुकाइएका छन्। खोलाले नभेटेको र भेटिसकेको पनि सुकाएर काम लाग्ने कागजातको अहिले भटाभट फोटो खिचेर राख्न थालिएको छ।

विपदको लगभग एक महिना पुग्नै लाग्दा बसेको कार्यपालिकाको बैठकले अन्य क्षेत्रलाई प्राथमिकतामा राख्न समय लाग्ने भन्दै तत्काल पूर्वाधारलाई नै हेर्ने निर्णय गर्यो।

‘सबै भन्दा मुख्य कुरा पूर्वाधार नै रहेछ। पूर्वाधार विना त हामी अलपत्र नै हुनेरहेछौँ,’ तिमल्सिना थप्छन्, ‘त्यै भएर अब केही समय हाम्रो प्राथमिकतामा पूर्वाधार बाहेक अरु केही पनि पर्दैन होला। विद्युत प्राधिकरण, दूरसञ्चार र खानेपानीको हाकिम आफैँ आएर गाउँ हेरिरहनुभएको छ।’

यी सब काममा स्थानीयहरूले पनि बरोबर हातेमालो गरिरहेको छन्। पालिकालाई वडाले उपलब्ध गराएको तथ्यांक अनुसार वडा नम्बर चारमा मात्र सात जनाले ज्यान गुमाएका छन्। त्यस्तै वडा नम्बर दुई र पाँचमा एक/एक जना अनि वडा नम्बर तीनमा दुई जना गरि जम्मा १२ जनाले पालिकामा ज्यान गुमाए। एक जना भने अझै बेपत्ता छन्।

सकेन जोखिम कम गर्न 
अहिले मानवीय क्षतिसँगै अन्य क्षति समेत कम भइरहेको भए पनि जोखिमयुक्त अवस्थामा रहेको बस्तीलाई सुरक्षा दिन नसक्दा क्षति बढ्ने सम्भावना उत्तिकै छ। पालिका भवनबाटै देखिने बनेपाली टोल एकदमै जोखिममा छ। कुनै पनि बेला यो पूरै बस्ती ढल्नसक्छ।

गृहमन्त्री रमेश लेखक पालिकाहरूको स्थलगत भ्रमण गर्ने क्रममा पनौती नगरपालिका हुँदै बेथानचोक र रोशी गाउँपालिका पनि पुगेका थिए। मन्त्री आएपछि अन्य पालिकामा जोड्ने सडकको समेत ट्र्याक खुलेको उनको भनाइ छ।

‘मन्त्री नआउँदा समेत हामीलाई हेलिकप्टर व्यवस्थापन समेतमा गाह्रो भएको थियो। साधन मात्र भएर पनि नहुने रहेछ। पूर्वाधारको महत्व त विपदले पो सम्झाइदियो,’ उनले भने, ‘एक नम्बर वडामा त हेलिकप्टरनै जान सक्ने समेत अवस्था थिएन। हेलिकप्टर राख्ने त कहाँ हो कहाँ!’

विद्युतको समस्या क्रमश: समाधान हुँदै गए पनि खानेपानीको भने समस्या समाधान हुन सकेको देखिएन। पालिकाको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत गाउँमा ७० प्रतिशत घरमा धारा भए पनि अहिले त्यसमा पानी नआएको सूचना अधिकारीले बताए।

‘विपद् अघि र पछिको लागि जनशक्ति नै भएन’
विपद् पूर्वतयारीको केन्द्र सरकारमै आलोचना भइरहेको बेला एउटा सानो गाउँपालिकाको पूर्वतयारी के नै हुन्थ्यो र! पूर्वतयारीको नाममा पालिकासँग पाल र त्रिपाल बाहेक केही थिएन र छैन।

‘यो विपद् हाम्रो परिकल्पना भन्दा पनि ठूलो भयो। हामीले त हाम्रो पालिकामा समेत यस्तो हुन्छ भनेर सोचेका पनि थिएनौँ। विपद् हामीले आंकलन गर्ने सकेनौँ। हाम्रो तयारीलाई पनि छलाङ मारेर विपद् आइदियो’, पालिकाको विवाद शाखा अधिकृत विश्वनाथ दाहालले भने।

विपद्पछिको कामका लागि आफूहरूसँग जनशक्ति नै नभएको उनको भनाइ छ।

‘यो लेभलको विपदको लागि हामीसँग जनशक्ति नै भएन। गाउँका स्थानीयहरू छिमेकीसँग आश्रित हुँदा हामीलाई सहज भयो। अन्य ठाउँमा भएको भए विस्थापितहरुलाई छुट्टै राख्नुपर्थ्यो। जसको सामर्थ्य हामीसँग छैन।’

पालिकालाई राहतको व्यवस्था गर्न समेत गाह्रो भएको देखिन्छ।

‘पालिकाको कर्मचारीहरू पहिला त कागजातहरू केही जोगाउन सकिन्छ कि भनेर नै व्यस्त हुनपर्यो,’ उनले भने, ‘पालिका भवनमै मात्र पाँच सयभन्दा बढी व्यक्तिहरूले श्रमदान गरेको भएर हाम्रो अफिस यत्तिसम्म पनि पुग्न सकेको हो।’

बसाइसराइको क्रम शुरू
घर, खेत, जग्गा केही पनि बाँकी नहुँदा अब गाउँबाट बसाइसराइको क्रम शुरू भएको पालिकाले जनाएको छ। आंशिक क्षतिको मारमा परेको परिवारहरू पनि विस्तारै पनौती बजारतिर झर्न थालेको देखियो।

काभ्रेपलान्चोकमा १३ वटा स्थानीय तह छन्। ती तहहरूको मूल्याङ्कन हुने विभिन्न क्षेत्रको शीर्ष स्थानमै पर्ने बेथानचोक विस्थापित नै हुने अवस्थामा देखिन्छ। बेथानचोक भनेर चिनिने सम्मको पूर्वाधारमा केन्द्र सरकारले केही हदसम्म ध्यान दिए बाँकी काम पालिकालेनै गर्न सक्ने यहाँका कर्मचारी बताउँछन्।

काभ्रेकै अर्को रोशी गाउँपालिका पनि धेरै क्षति भएको पालिका अन्तर्गत पर्छ। रोशीले वितण्डा मच्च्याउँदा त्यहाँ धेरै क्षति भयो। तर, त्यहाँको पनि एकिन विवरण आइसकेको छैन। विपद्मा परेको पालिकाले अब केन्द्र सरकारसँग पूर्वाधार विकासका लागि सहयोग मागेको छ।

‘हाम्रो बेथानचोक हामी नै बनाउन सक्छौँ। हामीले यस्तो अवस्थामा केन्द्रबाट धेरै अपेक्षा गरेका छौँ,’ पूर्वाधार प्रमुख समेत रहेका सूचना अधिकारी तिमल्सिनाले भने, ‘हामीलाई बेसिक पूर्वाधारको लागि मात्र केन्द्रले सहयोग गरे पनि धेरै हुन्थ्यो। अहिले त हामी कसरी अगाडि बढ्न सकिन्छौँ भनेर नै लागिरहेका छौँ।’

यो पनि:

कात्तिक ८, २०८१ बिहीबार १३:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।