लुम्बिनीमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण, युवा तथा खेलकुद मन्त्रालय अझै मन्त्रीविहीन

लुम्बिनीमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण, युवा तथा खेलकुद मन्त्रालय अझै मन्त्रीविहीन

बुटवल : लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन्।

बिहीबार बिहान प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ ग्रहण गराएका हुन्।

शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीका सांसद् हुन्।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ। प्रदेशमा १२ मन्त्रालय छन्। युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुर्नगठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए। सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो।

नेपाली कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जाेखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो।

कात्तिक ७, २०८१ बिहीबार १०:१९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।