‘डाना’ आँधी आउन लागेपछि भारतको पश्चिम बंगाल र ओडिसामा उच्च सतर्कता, नेपालमा कस्तो प्रभाव ?

‘डाना’ आँधी आउन लागेपछि भारतको पश्चिम बंगाल र ओडिसामा उच्च सतर्कता, नेपालमा कस्तो प्रभाव ?

काठमाडौं : चक्रवाती आँधी ‘डाना’ आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्नसक्ने देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ।

भारतीय मिडियाका अनुसार ‘डाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ भने पश्चिम बंगाल र ओडिशा सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्मका लागि बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ।

डाना आँधी बुधबार रातीदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बीचको तटमा पुग्नसक्ने भएकाले बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको त्यहाँकोम मौसम विभागले जनाएको छ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा डानाबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिव-स्तरका अधिकारीहरूलाई सुम्पिएकी छन्।

जसका लागि यस क्षेत्रमा एक हजारभन्दा बढी नियन्त्रण कक्ष र राहत शिविर खोलिएका छन्। यस क्षेत्रका विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था समेत गरिएको छ।

यस्तै डाना आँधीको प्रत्यक्ष प्रभाव नेपालमा भने नपर्ने देखिएको छ। यद्यपि पूर्वी भेगमा बिहीबार साँझ र शुक्रबार विहान हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कात्तिक ७, २०८१ बिहीबार ०९:३०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।