एएफसी यू-१७ एसियन कप छनोटमाख नेपाल जापानसँग ९-२ गोलले पराजित

एएफसी यू-१७ एसियन कप छनोटमाख नेपाल जापानसँग ९-२ गोलले पराजित

काठमाडौं  : एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल साविक विजेता जापानसँग पराजित भएको छ।

कतारको दोहास्थित हमाद हमाद विन खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित हुन पुग्यो।

खेलमा सबिनकुमार लुङगेली मगरले १२औं मिनेटमा गोल गर्दा नेपालले शुरूवाती अग्रता लिएको थियो।

त्यसको ५ मिनेटमा जापानले बराबरी गोल फर्कायो। जापानका तानो डाइचीले खेलको १७औं मिनेटमा गोल फर्काए। उनले चार गोल गरे।

पहिलो हाफमा ५-१ ले अगाडि रहेको जापानले खेलको दोस्रो हाफमा थप चार गोल थप्यो। नेपालका विज्ञान खड्काले थप एक गोल गरे।

नेपाल रहेको समूह ‘एफ’मा पूर्वविजेता जापानसँगै, कतार, र मंगोलिया छन्।

नेपालले अब दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ।

दुवै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

एएफसी यू-१७ एसियन कपमा छनोटका लागि ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन्।

कात्तिक ७, २०८१ बिहीबार ०७:३१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।