कान्ति अस्पतालको टेन्डरमा बदनियत : मेसिन नि:शुल्क ल्याएर रिएजेन्टमा असुली, निश्चित कम्पनीसँग मात्र मिल्नेगरी प्याकेजका सर्त नै लक्ड

कान्ति अस्पतालको टेन्डरमा बदनियत : मेसिन नि:शुल्क ल्याएर रिएजेन्टमा असुली, निश्चित कम्पनीसँग मात्र मिल्नेगरी प्याकेजका सर्त नै लक्ड

काठमाडौँ : कान्ति बाल अस्पतालले ल्याब सम्बन्धी मेसिन र त्यसमा लाग्ने रिएजेन्ट खरिदको मिलेमतो भत्काउन रिएजेन्टमा प्रतिस्पर्धा गराएर मेसिन निःशुल्क लिने प्रक्रिया अगाडि बढायो। तर, खरिद प्रक्रिया नै गोलमटोल भयो।

हाल ल्याब परीक्षणका लागि रिएजेन्ट खरिद लगायतमा वार्षिक करिब १२ करोड खर्च हुने गरेको देखिन्छ। यसलाई घटाउन रिएजेन्टमा प्रतिस्पर्धा गराउने तर मेसिन निःशुल्क लिने सर्त राखेर टेन्डर गरिएको थियो। तर यसमा पनि मिलेमतो गरेर पाँच वर्षसम्म एकै कम्पनीलाई रिएजेन्टमा हालीमुहाली गर्न दिने बदनियत देखियो।

टेन्डरका बुँदाहरूमा पनि ठाउँ ठाउँमा निश्चित कम्पनीका उत्पादकसँग लक्ड गरिएको छ। यसले खरिद प्रक्रियामा नियत असल देखाएर मेसिन निःशुल्क ल्याए पनि रिएजेन्टबाट असुली गर्ने बदनियत देखियो।

अन्तिममा खरिदको टेन्डर कागजातमा राखिएका विभिन्न सर्तको छिद्रमा खेलेर रिएजेन्टको ठेक्का चाहेकै सप्लायर्स कम्पनीलाई दिनेगरी प्रक्रिया अगाडि बढाइयो।  

अधिकांशले मेसिन अनि रिएजेन्ट दुवै खरिद गर्दै आएका थिए । तर कान्तिले रिएजेन्टमा प्रतिस्पर्धा गराएर मेसिन भने निःशुल्क लिनेगरी असल मनसायले टेन्डर प्रक्रिया सुरु गरेको देखिन्छ। यस्तोमा रिएजेन्टमा प्रतिस्पर्धा गराएर जसले पाउँछ उसैले निःशुल्क मेसिन दिँदा मेसिन किन्दा लाग्ने रकम जोगिन्छ।

मेसिन बापतको रकम जोगाउन अपनाइएको टेन्डर प्रक्रियामा रिएजेन्टमा गएर मिलेमतो गरियो। निश्चित कम्पनीले महँगोमा प्रस्ताव गरेको टेन्डर मात्र पास हुनेगरी सर्तहरू राखेर प्रक्रिया अगाडि बढाइयो।

उकेराले प्राप्त गरेको तथ्य अनुसार रिएजेन्ट खरिदका लागि नौ वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेका छन्। टेन्डर मूल्याङ्कनको चरणमा छ। टेन्डर प्रक्रियामा विवाद ननिम्तिए केही दिनमा नै टेन्डर स्वीकृत हुने तयारी देखिन्छ।

अस्पतालले रिएजेन्ट खरिदका लागि २०८१ असोज ३ मा मा एक खाम विधिबाट टेन्डर आव्हान गरेकाले प्राविधिक र आर्थिक दुवै प्रस्ताव एकै पटक खुल्छ। दुवै प्रस्ताव एकै पटक खुल्ने भएकाले कसले कति मूल्यमा रिएजेन्ट खरिद गर्न प्रस्ताव गरेको छ भन्ने विषय टेन्डरको प्राविधिक मूल्याङ्कनको चरणमा नै थाहा हुन्छ।

यो चरणमा कम मूल्यमा रिएजेन्ट ल्याउने प्रस्ताव गर्ने सप्लायर्सलाई प्राविधिक मूल्याङ्कनको चरणमा अयोग्य बनाएर  बढी मूल्य प्रस्ताव गर्ने  र टेन्डर दिन चाहेको कम्पनीलाई टेन्डर दिन सहज हुन्छ। कान्तिमा यही चलखेल भएको देखिन्छ।

प्रारम्भमा २०२४ अक्टोबर १० मा टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकियो। टेन्डर खुल्ने मिति समेत त्यही दिनलाई तोकियो । तर यसलाई संशोधन गरेर टेन्डर प्रस्ताव गरिसक्नुपर्ने मिति एक दिन अगाडि २०२४ अक्टोबर ९ मा सारियो। संशोधित टेन्डर  कागजातमा केही परीक्षण हेरफेर गरेको देखिन्छ भने बाँकी यथावत् नै देखियो।

खरिदका प्याकेजमा चलखेलका छिद्र

कान्ति बाल अस्पतालले रिएजेन्ट खरिदका लागि विभिन्न छ वटा प्याकेज बनाएर ल्याब सम्बन्धी रिएजेन्ट खरिदका लागि टेन्डर गरेको थियो। अस्पताल स्रोतका अनुसार ल्याब सम्बन्धी रिएजेन्ट खरिदको ६ वटा प्याकेजमा नौ वटा सप्लायर्स कम्पनीले १६ वटामा प्रतिस्पर्धा गरेका छन्।

जसमध्ये ‘प्याकेज–एक, दुई र तीन’मा तीन तीन वटा, ‘प्याकेज–चार र पाँच’मा दुई-दुई वटा, र ‘प्याकेज–६’ मा तीन वटा सप्लायर्स कम्पनीले ल्याब सम्बन्धी रिएजेन्टको टेन्डर प्रस्ताव गरेका छन्। 

टेन्डरका यी प्याकेजमा परीक्षण गर्नुपर्ने विषय, त्यस्तो परीक्षणका लागि आवश्यक मेसिन र अस्पतालमा वर्षभरिमा हुने परीक्षणको परिमाणका बारेमा अस्पतालले उल्लेख गरेको छ।

अस्पतालले ‘प्याकेज–एक’मा ‘बायोकेमस्ट्रि एन्ड केमिलुमिनेस्सेन्स इम्युनोएस्सी एन्ड स्पेसिफिक प्रोटिन एनालाईजर’ मसिनले गरिने ल्याब परीक्षणको रिएजेन्ट खरिदको लागि टेन्डर गरेको थियो।

जसमा ‘फुल्ली अटोमेटिक  इन्टरग्रेटेड बायोकेमेस्ट्रि एन्ड केमिलुमिनेस्सेन्स इम्युनोएस्सी एन्ड स्पेसिफिक प्रोटिन एनालाईजर’मेसिन हुनुपर्ने उल्लेख छ। एक सिनियर बायोमेडिकल इन्जिनियरका अनुसार ‘प्याकेज–एक’मा भएको यो स्पेशिफिकेशन ‘ब्याकम्यान कुल्टर’ र  ‘एबोट’नामक दुई उत्पादक कम्पनीका मेसिनसँग लक्ड गरिएको छ।

अस्पतालले ६ वटै प्याकेजमा परीक्षण हुनुपर्ने र परीक्षण हुने सम्भावित परिणामको बारेमा टेन्डर कागजातमा उल्लेख गरेको छ। अस्पतालले ‘प्याकेज–दुई’मा ‘सिबीसी’ मेसिनले गरिने ल्याब परीक्षणको रिएजेन्ट खरिदको लागि टेन्डर गरेको थियो। अस्पतालमा यस्तो मेसिनबाट हुने ‘सिबिसी’ र ‘रेटिक्स’ दुई परीक्षण हुनुपर्ने र परीक्षण हुने सम्भावित परिणामको बारेमा पनि टेन्डर कागजातमा उल्लेख छ।

त्यसैगरी अस्पतालले ‘प्याकेज–३’ मा ‘इएसआर’ परीक्षण गर्ने  ल्याब सम्बन्धी रिएजेन्ट खरिदका लागि टेन्डर गरेको थियो। त्यसैगरी ‘प्याकेज–चार’ मा ‘फुल्ली अटोमेटिक लेटेष्ट अटोमेटिक ब्लड सि-एस’ मसिनले गरिने ल्याब परीक्षणको रिएजेन्ट खरिदको लागि टेन्डर गरेको हो।

यो प्याकेजमा पनि ‘अप टु ८० बटल्स अर लोड सेम टाइम’ राखिएको छ, जुन प्रावधान पनि शङ्कास्पद देखिएको छ।

अस्पतालले ‘प्याकेज–पाँच’ मा ‘अटोमेटिक युरिन एनालाईजर’ मसिनले गरिने ल्याब परीक्षणको रिएजेन्ट खरिदको लागि टेन्डर गरेको थियो। अस्पतालले ‘प्याकेज–६’ मा ‘अटोमेटिक युरिन कल्चर सिस्टम’को मसिनले गरिने ल्याब परीक्षणको रिएजेन्ट खरिदको लागि टेन्डर गरेको छ।  यसरी हेर्दा एक आपसमा सप्लायर्स कम्पनीहरू समेत मिलेर खरिद प्रक्रिया अगाडी बढेको आशङ्का गर्ने ठाउँ देखिन्छ।

अस्पष्ट सर्तएउटै सप्लायर्सलाई पाँच वर्ष हालीमुहाली

कान्ति बाल अस्पतालले ल्याब सम्बन्धी रि-एजेन्ट खरिद गर्ने र ती ल्याब परीक्षणका निःशुल्क मेसिन दिनेबारे गरेको टेन्डर कागजातमा २८ वटा बुँदामा ‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’ राखेको छ।

तर, अस्पतालले सम्झौताको अवधि वार्षिक रूपमा नवीकरण गरी पाँच वर्षको लागि हुने र त्यो  अवधिसम्म दर परिवर्तन नहुने उल्लेख गरेको छ। यसरी हेर्दा ल्याब सम्बन्धी रिएजेन्टको टेन्डर पाउने एउटै सप्लायर्सले अस्पतालमा पाँच वर्षसम्म निरन्तर रिएजेन्ट आपूर्ति गर्न पाउने सर्त राखिएको छ।

‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को पहिलो बुँदामा अस्पतालले सञ्चालनमा ल्याएका ल्याब उपकरणको लागि आवश्यक रिएजेन्ट वस्तु खरिदको मोडालिटीमा खरिद गरिँदै आएको उल्लेख गरेको छ। तर, अब भने ल्याब सञ्चालनका लागि आवश्यक उपकरण तथा रिएजेन्ट सहितको सेवा खरिदको मोडलमा रूपान्तरण गर्ने गरी प्रस्ताव तयार गरिएकोले सोही अनुरूप आपूर्तिकर्ताले आफूले प्रस्ताव गर्न चाहेको उपकरण निःशुल्क उपलब्ध गराउनुपर्ने सर्त राखेको छ।

सो मेसिनबाट अस्पतालले सेवाग्राहीलाई दिने सेवाको सङ्ख्याको आधारमा आपूर्तिकर्तालाई मूल्य भुक्तानी गरिने भएकोले सेवाको मूल्य प्रस्ताव गर्नुपर्ने प्रावधान टेन्डर कागजातमा उल्लेख छ। यो बुँदा स्वाभाविकै देखिन्छ।

 

टेन्डर कागजातमा भएको ‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर दुईमा अस्पतालले तयार गरेका ६ प्याकेजका लागि छुट्टाछुट्टै प्रस्ताव पेस गर्नुपर्ने उल्लेख छ।

कुनै प्रस्तावकले एक भन्दा धेरै प्याकेजमा प्रस्ताव पेस गर्न चाहेमा तोकिएको दस्तुर तथा जमानत अलग अलग जम्मा गर्नुपर्ने उल्लेख छ।

बुँदा नम्बर तीनमा आपूर्तिकर्ताले अस्पतालले जारी गरेको स्पेसिफिकेसन बमोजिमको मेसिन (एक थान ब्याकअप समेत) निःशुल्क रूपमा सम्झौता भएको मितिले सात दिन भित्र अस्पतालको ल्याबमा जडान गर्नुपर्ने उल्लेख गरेको छ। तर, कस्तो स्पेशिफिकेशन बनाउने अस्पष्ट देखिन्छ।

सर्तमा ‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर सातमा अस्पतालले आपूर्तिकर्तालाई उपकरण जडान गर्ने स्थान, उपकरणमा लाग्ने विद्युत्, कम्प्युटर तथा प्रिन्टर कागज एवं लाग्ने जनशक्ति उपलब्ध गराउने जनाएको छ।

त्यो  बाहेक मेसिनको ह्रास हुँदा हुने क्षतिको मूल्य, मेसिनको मर्मत सम्भार खर्च, आपूर्ति गर्ने रिएजेन्टको मूल्य ‘क्यालिब्रेटर्स’ तथा ‘कन्ट्रोल’को मूल्य खेर जाने परिमाण जस्ता विषयलाई मध्यनजर गरी दर (सिपीआरआर) प्रस्ताव गर्नुपर्ने उल्लेख छ।

यो बुँदालाई हेर्दा सप्लायर्स कम्पनीलाई घाटा लाग्ने अवस्था देखिँदैन। किनकि सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गर्दा नै मेसिनको ह्रास हुँदा हुने क्षतिको मूल्य, मेसिनको मर्मत सम्भार खर्च, आपूर्ति गर्ने रिएजेन्टको मूल्य ‘क्यालिब्रेटर्स’ तथा ‘कन्ट्रोल’को मूल्य, खेर जाने परिमाण जस्ता विषयलाई जोडेर उनीहरूले टेन्डर प्रस्ताव गरेका हुन्छन्।

बुँदा नम्बर आठमा आपूर्तिकर्ताले अस्पतालको ल्याबमा दिएको रिएजेन्ट तथा सो सँग सम्बन्धित सामग्रीको मितव्ययी तवरले प्रयोग गराउनका लागि बारकोड लगायत विभिन्न प्रविधिहरू जडान गर्न सक्ने उल्लेख छ।

‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर नौमा सेवाग्राहीले सेवा प्राप्त गरेको ‘टेस्ट’ रिपोर्ट सङ्ख्याका आधारमा आपूर्तिकर्ताले पेस गरेको (सिपीआरआर) दरले गुणन गरी आपूर्तिकर्तालाई भुक्तानी गरिने बाहेक थप कुनै रकम भुक्तानी नगरिने व्यवस्था छ।

तर, अस्पतालले सम्झौताको अवधि वार्षिक रूपमा नवीकरण गरी पाँच वर्षको लागि हुने र त्यो  अवधिसम्म दर परिवर्तन नहुने उल्लेख छ। यसरी हेर्दा ल्याब सम्बन्धी रिएजेन्टको टेन्डर पाउने एउटै सप्लायर्सले अस्पतालमा पाँच वर्षसम्म निरन्तर रिएजेन्ट आपूर्ति गर्छ।

तीन वर्षसम्मको अवधिसम्म स्वाभाविकै देखिए पनि पाँच वर्षसम्म एउटै सप्लायर्सको रिएजेन्ट लिनेगरी टेन्डर दिने तयारी स्वाभाविक देखिँदैन। यसले मेसिन निःशुल्क लिने सकारात्मक प्रक्रिया देखाएर रिएजेन्टमा मिलेमतो गरिएको देखिन्छ।

मेसिन निःशुल्क दिएर कति वर्षसम्म रिएजेन्ट दिने हो त्यो खुल्ला राखेको अवस्थामा पाँच वर्ष कम अवधिको पनि प्रस्ताव आउन सक्थ्यो । तर टेन्डरमै पाँच वर्ष तोकेर यो प्रतिस्पर्धालाई बन्देज गरेको देखिन्छ।

बुँदा नम्बर १४ मा आपूर्तिकर्ताले प्रस्ताव गरेको उपकरण नेपालको कुनै अस्पतालमा जडान भई प्रयोग भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख छ। यो बुँदामा राखिएको प्रावधानले भने नयाँ उत्पादित ब्रान्डका मेसिन प्रवेशलाई अस्पतालले वञ्चित गरेको देखिन्छ।

बुँदा नम्बर १५ मा अस्पतालले मुख्य मुख्य टेस्टहरूको आधारमा प्याकेज तयार गरिएको जनाएको छ। तर, अन्य अस्पतालमा तत्काल गर्नुपर्ने टेस्टहरू र भविष्यमा समेत टेस्टहरू थपिन सक्ने भएकोले आफू (सप्लायर्स कम्पनी)ले प्रस्ताव गरेको मेसिनले कुन कुन टेस्ट गर्न सक्ने हो, त्यो विषय खुलेको व्रोसर तथा त्यसको मूल्य समेत तयार गरी थप अनुसूचीमा उपलब्ध गराउनुपर्ने प्रावधान राखेको छ।

अनुसूचीमा दर उल्लेख नगर्ने प्रस्तावकको प्रस्तावलाई ‘बीओक्यु’को मूल्याङ्कनमा समेत समावेश नगरिने अस्पतालको टेन्डर कागजातमा सर्त राखिएको छ। यो प्रावधान पनि प्रस्ट देखिँदैन।

‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर २० मा आपूर्तिकर्ताले आपूर्ति गरेको सामानको सम्पूर्ण पार्टस् सहितको वारेन्टी तथा ‘सर्भिस वारेन्टी’ अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ।

सम्झौता अवधिभर अस्पतालमा जडित उपकरणको सम्पूर्ण मर्मत सम्भारको जिम्मेवारी आपूर्तिकर्ता स्वयंको हुने उल्लेख छ । आपूर्तिकर्ताले ‘ब्याकअप’का लागि उपलब्ध गराएको समेत उपकरण बिग्रिएको खण्डमा आपूर्तिकर्ताले मेसिन नबनेसम्म अन्यत्रबाट भए पनि सेवा प्रदान गर्नुपर्ने सर्त राखिएको छ। यो बुँदामा अन्यत्र भन्ने शब्द नै अस्पष्ट छ।

यो बुँदामा अन्यत्र भन्नाले कुन वर्गको ल्याबमा परीक्षण गरिने हो भन्ने लगायतको विषय खुल्दैन। त्यसैले दुरुपयोग हुने समेत सम्भावना देखिन्छ। बुँदा नम्बर २२ मा अस्पतालमा सेवा लिन आउने बिरामीहरूको चाप तथा मेसिनको मर्मत सम्भारको अवस्थालाई मध्यनजर गरी एक थान थप उपकरण समेत ब्याकअपको रूपमा आपूर्तिकर्ताले उपलब्ध गराउनुपर्ने अस्पतालले सर्त राखेको छ।

टेन्डर कागजातमा ‘आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर २४ मा स्पेसिफिकेसन अनुसारको मेसिन तथा रिएजेन्ट प्राविधिक रूपमा योग्य भएका बोलपत्रहरूमध्ये बोलपत्रको ‘बीओक्यु’मा कबुल गरेको प्याकेज अनुसार न्यूनतम मूल्याङ्कित बोलपत्र स्वीकृत हुने उल्लेख छ। यो बुँदामा ‘स्पेशिफिकेशन अनुसारको मेसिन’ भन्ने प्रावधान विरोधाभास देखिन्छ।

अस्पतालले बुँदा नम्बर २५ मा आपूर्तिकर्ताले उपलब्ध गराइएको उपकरण तथा रिएजेन्टबाट दिएको सेवाको गुणस्तर परीक्षणका लागि नेपाल सरकारको मान्यता प्राप्त ल्याबमा पठाइने र गुणस्तरमा तात्त्विक फरक परेको खण्डमा  आपूर्तिकर्तासँग भएको सम्झौता रद्द गरिने सर्त राखेको छ।

तर, यो बुँदामा भएको सर्त हेर्दा गुणस्तरजस्तो संवेदनशील विषयमा फरक परेको खण्डमा सम्झौता रद्द गरेर मात्रै गुग्ने देखिँदैन। गुणस्तरहीन मेसिन तथा रिएजेन्ट दिने आपूर्तिकर्ता (सप्लायर्स कम्पनी)लाई कारबाही समेत गर्नुपर्ने सर्त राख्नुपर्ने देखिन्छ।

टेन्डर कागजातमा अस्पताल यस्तो सर्त राख्न  चुकेको देखिन्छ। तर, अस्पतालले सम्झौता गर्दा समेत यस्ता कारबाहीका सर्त राख्न सकिने देखिन्छ।

त्यसो त अस्पतालले आपूर्तिकर्तालाई निर्देशन तथा आपूर्तिका सर्तहरू’को बुँदा नम्बर २६ मा बोलपत्रदाताको कुनै पनि सर्त मान्न अस्पताल बाध्य नहुने र बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार अस्पतालमा सुरक्षित रहने उल्लेख छ।

सर्तको बुँदा नम्बर २६ मा भनिएको छ,‘अस्पताल प्रशासनलाई उपयुक्त नलागेमा कुनै पनि बोलपत्र रद्द गर्न सकिनेछ।’ एक विज्ञका अनुसार यो कानुनी भाषा हो। तर, यो सर्तको छिद्रमा खेल्न सक्ने समेत देखिन्छ। त्यसैले बोलपत्र रद्द हुने अवस्थाका विषयमा प्रस्ट पाउनुपर्ने देखिन्छ।

कात्तिक ६, २०८१ बुधबार २३:२५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।