पूर्वी नेपाललाई राजधानीसँग  जोड्ने बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

पूर्वी नेपाललाई राजधानीसँग  जोड्ने बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा

काभ्रेपलाञ्चोक : सडक डिभिजन कार्यालय भक्तपुरले बीपी राजमार्गमा आजदेखि पूर्णरूपमा सञ्चालन गर्न अनुमति दिएको छ। कार्यालयले जोखिमका कारण गत असोज ३० देखि रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो।

असोज दोस्रो साता परेको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्ग अन्तर्गतको धुलिखेल-भकुण्डेबेँसी-बर्खेखोला सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको थियो। 

कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित १ नम्बरपुल-चौकीडाँडा-बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत-सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै उक्त सडकखण्ड रातको समयमा बन्द गरेको हो। 

बाढीपहिरोका कारण काभ्रेतर्फ भकुण्डेबेँसी-चौकीडाँडा-बर्खेखोला खण्डका विभिन्न स्थानमा पूर्णरूपमा बगाएको ८ किलोमिटरभन्दा बढी लम्बाइको सडकमा वैकल्पिक ट्रयाक निर्माण गरेर सो रुटमा परमिट भएका यात्रुवाहक बस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आउजाउ गर्छन्।

राजमार्गको कूल एक सय ६० किमीमध्ये तेस्रो खण्ड अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपाल थोकसम्म ३४ किमी र चौथो खण्ड नेपाल थोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको कार्यालयले जनाएको छ।  

कात्तिक ६, २०८१ बुधबार २२:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।