साफ च्याम्पियनसिप फुटबल : भारतलाई ३-१ गोलले हराउँदै बङ्गलादेश सेमिफाइनल पुग्यो

साफ च्याम्पियनसिप फुटबल : भारतलाई ३-१ गोलले हराउँदै बङ्गलादेश सेमिफाइनल पुग्यो

काठमाडौं : राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई पराजित गर्दै बङ्गलादेश प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 
    
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। बङ्गलादेशले दुई खेलबाट चार अङ्क बटुल्दै समूह ए को शीर्षस्थानमा रहेको हो। 
    
समान खेलबाट तीन अङ्क जोडेको भारत पनि समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। 

बङ्गलादेशलाई १–१ गोलको बराबरीमा रोकेको पाकिस्तान भारतसँग भने ५–२ ले पराजित भएको थियो। 
    
आज बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खन्दाकेरले एक गोल गरिन्। पराजित भारतका लागि भने बाला देवीले एक गोल फर्काइन्। 

खेलको १९औँ मिनेटमा बङ्गलादेशले सुरुआती अग्रता लियो। अफिदाले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो। 

खेलको २९औँ मिनेटमा बङ्गलादेशले आफ्नो अग्रता दोब्बर पार्न सफल भयो। लामो पासमार्फत आएको बललाई गोल लाइन नजिकबाट तोहुराले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएकी हुन्। 
    
खेलको ४२औँ मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। उनले सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई सदुपयोग गर्दै गोल गरेकी हुन्। तोहुराले गोल गरेको एक मिनेट पनि बित्दै नपाउँदै भारतकी बाला देवीले एक सान्त्वना गोल गरिन्। 

खेलको विभिन्न समयमा भारतले गोल फर्काउने प्रयास गरे तापनि सफल हुन सकेन। 
    
साफ च्याम्पियसिपअन्तर्गत भोलि समूह बी का दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १ः३० बजे भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। 

दोस्रो खेलमा साँझ ५ः३० बजे नेपाल र श्रीलङ्का आमनेसामने हुनेछन्।  

कात्तिक ६, २०८१ बुधबार २२:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।