लुम्बिनी प्रदेश सभा : कहिल्यै बैठक नछुटाउने सांसद तीन जना, नयाँ र युवा भनिने सांसदकै न्यून उपस्थिति

लुम्बिनी प्रदेश सभा : कहिल्यै बैठक नछुटाउने सांसद तीन जना, नयाँ र युवा भनिने सांसदकै न्यून उपस्थिति

बुटवल : प्रदेश सभा विधेयक बनाउने थलो हो। तर, लुम्बिनी प्रदेशका अधिकांश सांसदहरू त्यही संसद्मा उपस्थित हुँदैनन्।  

संसद् विधेयक बनाउने थलो मात्र होइन, जनसरोकारका विषयमा जनताले चुनेर पठाएका जनप्रतिनिधिको छलफल गर्ने ठाउँ पनि हो। तर, तिनै सांसदहरूले सदनलाई वेवास्ता गरेको उनीहरुको उपस्थितिले देखाउँछ।

कानून बनाउने र नीतिगत कुराहरूमा छलफल हुने सदनमा सांसदहरू जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने भएपनि लुम्बिनी प्रदेशका सांसदहरू संसदमा नियमित उपस्थित नहुने गरेको तथ्यांकले देखाउँछ।

लुम्बिनी प्रदेशसभामा जम्मा ८७ जना सांसद छन्। त्यसमध्ये ३ जनामात्रै सबै बैठकमा उपस्थित भएका छन्। बाँकी सांसदहरू सबै बैठकमा नियमित उपस्थित नभएको प्रदेश सभा सचिवालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। 

यस पटक लुम्बिनी प्रदेश सभामा युवाहरूको बलियो उपस्थिति छ। त्यसैले अनि उनीहरूले संसद्मा नियमित उपस्थित भएर जनताका पीरमर्काका विषय उठान गर्नेमा धेरैको अपेक्षा थियो। तर, संसद्मा उनै युवाहरूको उपस्थिति कम छ।

४० वटा पनि बैठकमा सहभागी नहुने को-को?
लुम्बिनी प्रदेशसभाको पहिलोदखि चौथो अधिवेशन सकिदासम्म कुल ७३ वटा बैठक बसेका छन्। त्यसमध्ये सबैभन्दा कम उपस्थित हुने सांसदको पहिलो नम्बरमा छिन् सांसद गिता गुरुङ। गुरुङ ७३ बैठकमध्ये ३२ वटामा मात्र उपस्थित भएकी छिन्। 

उनी पहिलो अधिवेशनमा ७, दोस्रो अधिवेशनमा ९, तेस्रो अधिवेशनमा १ र चौथो अधिवेशनमा १५ वटा बैठकमा मात्र उपस्थित भएकी छिन्।

उनले स्वास्थ्यका कारण आफू बैठकमा उपस्थित हुन नसकेको बताइन्।

जनमत पार्टीकी गुरुङ रुपन्देहीबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन्। जबकी जनमत पार्टी गएको निर्वाचनमा उदाएको नयाँ पार्टी हो। 

त्यस्तै, पश्चिम नवलपरासी क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित कांग्रेसका देवकरणप्रसाद कलवार संसदमा कम उपस्थित हुने सांसदमा दोस्रो नम्बरमा छन्। उनी कुल ७३ बैठक मध्ये ३६ वटा बैठकमा मात्र उपस्थित भएका छन्। 

कलवार पहिलो अधिवेशनमा १०, दोस्रोमा १३, तेस्रोमा १ र चौथो अधिवेशनका १२ वटा बैठकमा उपस्थित भएका छन्।

कलवारले पनि स्वास्थ्यकै कारण आफू बैठक जान नसकेको बताए। 

जनता समाजवादी पार्टी, नेपाल विभाजनपछि अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका सांसद आदेशकुमार अग्रवाल ३७ वटा बैठकमा मात्र उपस्थित भएका छन्। 

बाँके क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनी पहिलो अधिवेशनमा ८, दोस्रोमा ११, तेस्रोमा १ र चौथो अधिवेशनको १७ वटा बैठकमा उपस्थित भएका छन्।

अर्का सांसद धनबहादुर केसी पनि कुल ७३ वटा बैठक मध्ये ३९ वटा बैठकमा सहभागी भएका छन्। 

पहिलो अधिवेशनमा ९, दोस्रोमा २१ वटा बैठकमा उपस्थित भएका उनी तेस्रो अधिवेशनको कुनै बैठकमा उपस्थित भएनन्। चौथो अधिवेशनमा ९ वटा बैठकमा मात्र उनी सहभागी भएको संसद सचिवालयले उपलब्ध गराएको सूचनामा उल्लेख छ। 

त्यस्तै, अर्का सांसद वसिरुद्दिन खाँ पनि ३९ वटा मात्र बैठकमा उपस्थित भएका छन्।

जो सतप्रतिशत बैठकमा उपस्थित भए
प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ। त्यसमध्ये ३ जना सांसदहरू प्रदेश सभाका कुल ७३ बैठक मध्ये ७३ वटै बैठकमा उपस्थित छन्।  

माओवादी केन्द्रबाट निर्वाचित सभामुख तुलराम घर्ती मगर ७३ वटै बैठकमा सहभागी भएका छन्। 

त्यस्तै, माओवादी केन्द्रकै सांसद यामबहादुर नेपाली सार्की पनि सभाका सबै बैठकमा सहभागी भएका छन्। गुल्मीका समानुपातिक सांसद नेपाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पनि हुन्। 

अर्का सांसद खड्ग बस्नेत पनि ७३ वटै बैठकमा सहभागी भएका छन्। आफ्नो पार्टी माओवादी केन्द्रले टिकट नदिएपछि पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (क)बाट निर्वाचित सांसद हुन् उनी।

प्रदेशसभाका बैठकमा सहभागी भएका सांसद सार्कीले जनताका आवाज उठाउने थलोमा आफू नियमित जानु कर्तव्य भएको बताए।

‘मैले जनतासँग जे बाचा गरेको हुँ, त्यो पूरा गर्न म संसद्मा उपस्थित हुने गरेको छु। संसद्मा जनताका आवाज पनि समय समयमा उठाएको छु’ उनले भने।

उनले दलित अधिकारका विषयलाई विशेष महत्व दिएर सदनमा आफ्ना आवाज राख्ने गरेका छन्। जनताका काम पनि आफ्नो निजी सचिवमार्फत् गराउने उनी प्राय: आफैं खटिन्छन्। 

अरू सांसद कति?
कुल ७३ बैठक मध्ये ७२ बैठकमा सहभागी हुने सांसदहरुको संख्या ५ छ। तुल्सीप्रसाद चौधरी, भगवती अधिकारी, उपसभामुख मेनुका खाण केसी, शान्ति लोध र सिता शर्मा ७२/७२ वटा बैठकमा उपस्थित छन्।

त्यस्तै, शृशिला बादी, मिना बुढामगर र खेम बहादुर सारु ७१ वटा बैठकमा उपस्थित भएका छन्।

नवराज लामिछाने, भोजप्रसाद श्रेष्ठ, राजु श्रेष्ठ र हेमा बेल्बासे (केसी) ७० वटा बैठकमा उपस्थित भएका छन्। डिल्लीराज भुसाल र रत्नबहादुर खत्री ६९ वटा बैठकमा उपस्थित भएका छन्।

ईन्द्रकुमारी गहतराज, दिलकुमारी बुढा, निर्मालादेवी शाह, भुवनेश्वर चौधरी र लोकी कुमारी विश्वकर्मा ६८ वटा बैठकमा उपस्थित भएका छन्। 

त्यसैगरी दिनेश पन्थी, जोखबहादुर महरा, कृष्णा कुसुम थारू ६७ वटा बैठकमा उपस्थित हुँदा तारा थापा र मिनाकुमारी श्रेष्ठ ६६ वटा बैठकमा सहभागी भएका छन्।

इमुना रोका, भण्डारीलाल अहिर र धर्म चौधरी ६५, विश्व प्रेम पाठक, जानकी न्यौपाने, अर्जुनकुमार केसी र अम्बिका काफ्ले ६४ वटा बैठकमा उपस्थित भएका छन् भने इन्द्रजित थारू, प्रचण्ड विक्रम चौधरी, राजु खनाल र रामजीप्रसाद घिमिरे ६३ वटा बैठकमा उपस्थित भएका छन्। 

त्यस्तै, चिन्तामणी पाण्डे, दुर्गाप्रसाद चौधरी, देवीप्रसाद चौधरी, धनलक्ष्मी श्रेष्ठ र राजकुमार चौधरी ६२ वटा बैठकमा सहभागी भएका छन्। दिपेन्द्रकुमार पुन र धनबहादुर मास्के ६१ वटा बैठकमा उपस्थित हुँदा निमा गिरी र सुरुल पुन ६० वटा बैठकमा उपस्थित भएका छन्।

रेखा कुमारी शर्मा, भगवती कुमारी शर्मा, जन्मजय तिमिल्सिना ५९ वटा बैठकमा उपस्थित भएका छन्। सरिता पुन, विष्णु पन्थी, डिल्ली बहादुर चौधरी र कृष्णा केसी ५८ वटा बैठकमा उपस्थित भएका छन्। 

त्यसैगरी बसन्ती न्यौपाने र नरमाया ५७ वटा बैठकमा उपस्थित हुँदा चन्द्रश्वर गुप्ता ५६ वटा बैठकमा उपस्थित भएका छन्।

माया पुन, बादशाह कुर्मी, चेतनारायण आचार्य ५५/५५, मालती सोडारी, तुल्सीराम शर्मा ५४ वटा बैठकमा उपस्थित भएका छन्। वीर बहादुर राना, मिना कुमारी बोहोरा, भुमिश्वर ढकाल, धनेन्द्र कार्की ५३, सरोज थापा ४९, सायरा बानो ४८, गिरधारीलाल न्यौपाने ४८ वटा बैठकमा उपस्थित भएका छन्। 

सुमन शर्मा रायमाझि, लिला गिरी ४७, कन्हैया बनियाँ ४६, आशिष कुमार चौधरी ४५, अब्दुल खाँ ४४, जानकी प्रसाद यादव ४२, बैजनाथ कलवार ४१, मधुसुदन कुर्मी र अनुराग खड्का ४० वटा बैठकमा सहभागी भएका छन्।

'सांसदहरू जवाफदेही हुनुपर्छ'
विश्लेषक डा. खेमराज रेग्मी जनताका आवाज उठाउने थलोमा सांसदहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताउँछन्। 

‘जनताका कुरा संसदमा राख्ने हो। तर, संसदमा जान नै अल्छी गर्ने हो भने त्यो जनताप्रति गरेको बेइमानी हो’ उनले भने। 

कात्तिक ६, २०८१ बुधबार २२:१२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।