प्रकाश सुवेदीले बल्झाइदिए छक्कापञ्जाको साइवर सेना प्रसङ्ग, सन्तोष सेनले २५ मिनेटको भिडियो राखेर दिए दीपकलाई चुनौती

प्रकाश सुवेदीले बल्झाइदिए छक्कापञ्जाको साइवर सेना प्रसङ्ग, सन्तोष सेनले २५ मिनेटको भिडियो राखेर दिए दीपकलाई चुनौती

काठमाडौँ : चलचित्र ‘छक्कापञ्जा ५’ माथि ‘१२ गाउँ’को नाममा जुन तहको साइबर आक्रमण भयो त्यो प्रशंसकहरूको स्वतःस्फूर्त मात्र थिएन। सामाजिक सञ्जालमा कुनै फिल्मको प्रचार गर्दा निर्माण टिम अनि प्रशंसकहरूबाट जसरी समर्थन हुन्थ्यो ‘१२ गाउँ’को पक्षमा अलि भिन्न स्वरूप थियो। त्यसमा सङ्गठित सक्रियताको सङ्केत थियो नै।

प्रचार ‘१२ गाउँ’ केन्द्रित मात्र थिएन, ‘छक्कापञ्जा ५’ माथि नियोजित आक्रमण थियो। ‘छक्कापञ्जा ५’ को प्रचार सामाग्री, समाचार, ‘छक्कापञ्जा ५’ को निर्माण टिमको पोस्ट तल निरन्तर ‘छक्कापञ्जा ५’ लाई बहिष्कार गर्न र ‘१२ गाउँ’ हेर्न सन्देशहरू सम्प्रेषण भए। हेट क्याम्पियन चलाइयो।

त्यसको प्रभाव छक्कापञ्जा ५’ मा पर्यो नै। निर्माण टिम आत्तिए। दीपक अनि केदार घिमिरेले नियोजित रूपमा साइबर सेना परिचालन गरेर आक्रमण गरेको प्रतिक्रिया दिए। पछि उनीहरूले आफ्नो अभिव्यक्ति सच्याउने प्रयास गरेका थिए। कमजोर भए पनि दुवै फिल्म आर्थिक रूपमा सफल भए।

यसरी सामाजिक सञ्जालमा नियोजित रूपमा आक्रमण गर्ने काम कसले गरिरहेको छ त्यसबारे सार्वजनिक भएको थिएन। छक्कापञ्जा टिमले ‘कसले गरेको हो थाहा छ’ भन्दै संकेतमा मात्र कुरा गरिरहेका थिए।

यसलाई बल्झाउने काम गरे प्रकाश सुवेदीले। ‘छक्कापञ्जा ५’ माथिको सङ्कट टरेर फिल्मले राम्रो व्यापार गरेपछि सुवेदीले आफ्नो कार्यक्रममा बोलाएर संवाद गरेका थिए।

संवादकाक्रममा सामाजिक सञ्जालमा जुन रूपमा छक्कापञ्जा टिममाथि आक्रमण भयो त्यो कसले गरेको थाहा छ भन्ने प्रसङ्गमा दीपकले ‘थाहा छ तर नाम नलिने मुस्कानले स्वागत गर्ने’ भन्दै हाँसिरहे।

यो प्रसङ्गसम्म त्यति केही बिग्रिसकेको थिएन। सुवेदीको कार्यक्रममा एउटा सेगमेन्ट छ कसैको तस्बिर देखाएर कसरी चिन्नुहुन्छ। यो सेग्मेन्ट अधिकांश समय विवादमा आउँछ।

त्यही सेग्मेन्टमा फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनको तस्बिर देखाएर दीपकलाई सोधे ‘कुन रूपमा चिन्नुहुन्छ?’

दीपकले सकारात्मक रूपमै उनलाई साहसी निर्माता अनि आफ्नो फिल्मको प्रचार प्रसार गर्न सक्ने भनेर प्रशंसा गरे। प्रकाश यतिमै अड्किने स्वभावका हैनन्। उनले बल्झाइहाले ‘अहिले उहाँलाई कमान्डर पनि भन्छन् नि।’

दीपकले  ‘मैले पनि सुनेको छु। कमान्डर भन्छन्। कमान्डर भए पनि ठिकै छ’ भनेर यो प्रसङ्ग सक्काउन खोजेका थिए प्रकाशले थपिहाले ‘तपाइले गाली खाइरहेको कारण उहाँ हो भन्छन् नि।’

दीपकले ‘मेरो कानमा पनि आएको छ। तँ विरुद्ध क्याम्पेनिङ गरेको भन्छन्’ भने। तर सुनेकै भरमा हो भन्न सक्दिन। तर सेनको प्रशंसै गरे।

सेनले बलिदान फिल्ममा अभिनय गर्न अफर गरेको तर एक्सन गर्न आँट नआएकाले स्वीकार गर्न नसकेको बताए। छक्कापञ्जा ४ को बेलामा निकै सहयोग गरेको भन्दै सन्तोषको बलिदानको हिरो समीर भट्ट भएकाले १२ गाउँलाई सफल बनाउन नैतिक प्रेसर भएको हुनसक्ने बताएका थिए।

प्रसङ्ग यति हो। बुधवार सन्तोष सेन यही विषयमा २५ मिनेट लामो प्रतिक्रियासहित सामाजिक सञ्जालमा प्रस्तुत भए। उनले आफू दुई वर्षदेखि फिल्म ‘बलिदान’का लागि काम गरिरहेको र इतिहासमा नाम लेखाउनु पर्छ भनेर काम गरेको भन्दै फिल्मलाई नेपालमा मात्र नभएर नेपाली फिल्मलाई विश्व बजारमा लैजान प्रयास गरिरहेको भन्दै दीपक र प्रकाशको संवादप्रति आपत्ति जनाए।

प्रकाशले आफ्नो तस्बिर देखाएर कमान्डर भनेको अनि दीपकराज गिरीले पनि सुनेको भनेकोमा उनको आपत्ति थियो। त्यसमा उनले खण्डन गर्दै भने’ मैले गरेको हो भने थुन्नुपर्छ। जेल हाल्नुपर्छ। कोबाट सुनेको हो उभ्याउनुपर्यो।’

उनले आफू साइबर स्याल तयार गर्न सक्ने भए पैसा कमाएर बस्ने र साइबर स्याल भनेर दर्शकलाई अपराधी बनाएको भन्दै दीपकलाई भित्र मनमा तुष बोकेर मिठो बोलेर मात्र नहुने भन्दै प्रश्न सोधे ‘नेपाली फिल्म क्षेत्रमा एक अर्ब कमाएर के गर्नुभयो?’

उनले काठमाडौँ महानगरमा जसरी बालेन शाहको उदय भएको थियो त्यसरी नै नेपाली फिल्म क्षेत्रमा समीर भट्टको उदय भएको तर नेपाली फिल्म क्षेत्रका अधिकांशले स्वीकार गर्न नसकेको दाबी गरेका थिए।

कात्तिक ६, २०८१ बुधबार १८:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।