रवि पक्राउ परेपछि विरोध प्रदर्शन गरिरहेको रास्वपालाई प्रधानमन्त्री ओलीले भने 'अराजकता स्वीकार्य छैन'

रवि पक्राउ परेपछि विरोध प्रदर्शन गरिरहेको रास्वपालाई प्रधानमन्त्री ओलीले भने 'अराजकता स्वीकार्य छैन'

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको विरोध प्रदर्शनबारे असन्तुष्टि जनाएका छन्। 

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री ओलीले रवि पक्राउ परेपछि रास्वपाले गरिरहेको विरोध प्रदर्शनलाई लक्षित गरेर अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य नहुने बताए।

‘हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन,’ उनले भने, ‘जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लाग्ने प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन।’

उनले लोकतान्त्रिक पद्धति, मूल्य र मान्यताप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय हितको प्रश्नमा कुनै सम्झौता नहुने बताए।

उनले भने, ‘हामी लोकतन्त्रका लागि लडेका हौँ। हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ। अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन। जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन लागि आजीवन लागेका छौँ। हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन। यसमा हामी स्पष्ट छौँ।’

सहकारी ठगी प्रकरणमा गएको शुक्रबार रवि पक्राउ परेसँगै रास्वपाले अहिलेसम्म पनि विरोध प्रदर्शन गरिरहेको छ। सरकारले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको प्रदर्शनरत रास्वपा कार्यकर्ताहरूको आरोप छ।   

कात्तिक ७, २०८१ बुधबार १८:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।