राष्ट्रपतिसामु विपक्षी दलहरूको गुनासो 'सरकारले संविधानको मर्मविपरीत क्रियाकलाप गर्न थाल्यो'

राष्ट्रपतिसामु विपक्षी दलहरूको गुनासो 'सरकारले संविधानको मर्मविपरीत क्रियाकलाप गर्न थाल्यो'

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गरेका छन्। 

बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गरेका हुन्। 

प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जानकारी दिएका थिए।  

राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिकाबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

उनीहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। 

जबाफमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनप्रति प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमा अनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गरे। 

उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानले निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु।’

संसदमा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र आम जनता पार्टी छन्।

राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्धय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए।

कात्तिक ६, २०८१ बुधबार १७:४२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।