रवि पक्राउ परेको पाँच दिनपछि बोल्यो कांग्रेस, भन्यो 'रास्वपाको विरोध प्रदर्शनले विधिको शासनलाई अवमूल्यन गर्यो'
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि भइरहेको विरोध प्रदर्शनले न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने बताएको छ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा रास्वपा सभापति रवि लामिछानेका समर्थकहरूले सडक प्रदर्शन गरेर राज्यका तटस्थ निकायहरूलाई आतङ्कित तथा त्रसित पारी अनुचित दवाव सिर्जना गरिरहेको बताइएको छ।
रविलाई पक्राउ परेर पोखरा लगिएपछि त्यसयता रास्वपाले गरेका गतिविधिले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको कांग्रेसको ठहर छ।
सहकारी ठगीमा संलग्न आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका सञ्चालक जीवी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेको भन्दै कांग्रेसले त्यही प्रकरणमा जोडिएकाले रवि पक्राउ परेको हुनाले कानुन सबैका लागि समान हुने र हुनु पनि पर्ने कांग्रेसले भनेको छ।
‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले सहकारीको रकम अपचलन प्रकरणमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरू जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परेको तर, विगतमा छानबिन अघि नबढेको जनाएको छ।
कांग्रेसले विधिको शासन कायम गर्न, न्यायिक प्रक्रियालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु सबैको कर्तव्य हुने भएकाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रक्रियामा सहयोग गर्न रास्वपालाई आग्रहसमेत गरेको छ।
सहकारी ठगी प्रकरणमा गएको शुक्रबार रवि पक्राउ परेसँगै रास्वपाले अहिलेसम्म पनि विरोध प्रदर्शन गरिरहेको छ। सरकारले प्रतिसोध साँधेर रविलाई पक्राउ गरेको प्रदर्शनरत रास्वपा कार्यकर्ताहरूको आरोप छ।
कात्तिक ७, २०८१ बुधबार १७:२२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।