हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमाले जस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन्।
सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफबाह फैलाउने गरिएको टिप्पणी गरे।
‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नु पर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ, बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्’ प्रधानमन्त्री ओलीले भने।
उनले त्यसरी सुनाइएका कुराहरुलाई आफूले खण्डन गर्दै कर्मचारीले नै काम गर्ने हो भन्ने गरेको सुनाए।
'ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरू यहीँ हुनुहुन्छ। उहाँहरू पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ, राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ,’ उनले भने।
कात्तिक ७, २०८१ बुधबार १६:३३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।