सहकारी ठगीको रकम बचतकर्तालाई फिर्ता गर्नेबारे के भने प्रधानमन्त्री ओलीले?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानूनी कारवाही अघि बढेको बताएका छन्।
बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सय भन्दा माथिलाई कानूनी कारवाही गरिएको बताए।
उनले भने, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारवाही अगाडि बढाउने छु। जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गर्ने छौं। सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको छ र ल्याउँदै छ।'
उनका अनुसार हालसम्म ६ सयभन्दा माथिलाई कानूनी कारवाही गरिएको छ भने ५ सय ७५ भन्दा बढि त जेलमै छन्।
उनले सहकारी ठगहरूलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने समेत बताए। यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम अघि बढेको उनको दाबी छ।
उनले भने, ‘सहकारी ठगहरूलाई कारवाही मात्र गर्ने होइन बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम सँगसँगै अघि बढाइँदै छ।’
कात्तिक ७, २०८१ बुधबार १६:२०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।